sajalsandesh

नेपाली हेलिकप्टर उड्दा भारतमा हल्लीखल्ली

काठमान्डौ – नेपाली हेलिकप्टरका बारेमा भारतमा हल्लीखल्ली भएको छ ।

गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकप्टरका कारण भारतमा हल्लीखल्ली भएको हो ।
भारतीय अखबार ‘अमर उजाला’का अनुसार हरियो रङको उक्त हेलिकप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको थियो ।

शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकप्टर नेपालतर्फ फर्किएको उक्त समाचारमा बताइएको छ ।

भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ ।
भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ ।

उक्त हेलिकप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीविना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ ।

ismt college
dish home