९ फुटबलर जसले लिन सक्छन् यो दशकमा मेसी र रोनाल्डोको स्थान

२०७६ पुष २४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

एजेन्सी– सन् २०१० को दशकमा विश्व फुटबलमा सबैभन्दा बढी चलेको नाम रह्यो, लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको । अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर मेसी र पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर रोनाल्डोले भर्खरमात्र सकिएको दशकमा ठूलो सफलता पनि हासिल गरे । त्यही उनीहरुको सफलताका कारण अरु खेलाडीहरु छायामा परिरहे ।

कतिसम्म भने ब्यालोन डि ओरमा पनि यी दुई खेलाडीले नै नौ वर्षसम्म आफ्नो नाम दर्ज गराए, मेसीले पाँच वटा र रोनाल्डोले ४ वटा यो पदक जित हात पारे । यी दश वर्षमा एक पटक मात्र क्रोएसियाका लुका मड्रिडले ब्यालोन डि ओर जिते ।

सन् २०१० देखि सन् २०१९ सम्म रोनाल्डोले ५७५ खेल खेले । त्यसबाट उनले ५५४ गोल आफ्नो नाममा दर्ज गरेका छन् । यसमा उनले ४७७ गोल क्लबका लागि गरेका हन् भने ९० खेलमा ७७ गोल देशका लागि गरेका हुन् ।

मेसीले पनि यो दशकमा ६१४ खेल खेले । त्यसबाट उनले ५७६ गोल गरेका छन् । त्यसमा उनले क्लबका लागि ५ सय २० खेलमा ५१९ गोल गरेका हुन् । उनले देशका लागि ९४ खेल खेले र ५७ गोल गरे ।

तर, अब उनीहरुको एकक्षत्र राज यो दशकमा पनि कायम नहुने स्पष्ट संकेत छन् । ३२ वर्षका मेसी र ३४ वर्षका रोनाल्डो अब धेरै वर्ष मैदानमा बिताउने छैनन् ।

अनि अब नयाँ दशक सुरु भएको छ । यो नयाँ दशक सुरु भएसँगै विश्व फुटबलमा कसले कस्तो बर्चश्व जमाउलान् भन्ने चर्चा पनि सुरु नभएको होइन । अर्थात्, कसले लेला मेसी र रोनाल्डोको स्थान ?

विश्व फुटबलका पण्डितहरुले यसबारे विभन्न अनुमान गरेका छन् । त्यही अनुमानहरुलाई आधार बनाएर फरक धारका योगेश भट्टराईले यो रिपोर्ट तयार पारेका हुन् ।

केलिएन एम्बाप्पे

रोनाल्डो तथा मेसीको स्थान लिन सक्ने युवा खेलाडीहरुको नाममा अग्रपंक्तिमा आउने नाम हो केलिएन एम्बाप्पे । फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी) का यी २१ वर्षे स्ट्राइकर धेरैको नजरमा परेका छन् । एम्बाप्पे सन् २०१८ मा फ्रान्सलाइ विश्वकप जिताउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने खेलाडी पनि हुन् ।

विविसीका प्रमुख फुटबल लेखक फिल म्यकनुल्टीको विचारमा अब मेसी र रोनाल्डोको स्थान लिन सक्ने खेलडी एम्बाप्पे नै हुन् ।

उनेले भनेका छन्, ‘एम्बाप्पे भर्खर २१ वर्षका भए तर उनले विश्वकप जितिसकेका छन् । यो स्पस्ट छ कि अहिलेको अवस्थामा उनी सबैभन्दा उत्कृष्ट युवा फुटबलर हुन् । उनको प्रदर्शनबाट के बुभm्न सकिन्छ भने अबको केही वर्षपछि मेसी र रोनाल्डोको स्थानमा उनलाई देख्न सकिन्छ ।’

म्यानचेस्टर सिटीका पूर्वखेलाडी मिकाह रिचर्ड पनि यो कुरा मान्न तयार छन् । उनले पनि एम्बाप्पेले नै अब मेसी र रोनाल्डोको स्थान लिनसक्ने अनुमान गरेका छन् ।

जब फिलिक्स

फिलिक्स पनि अहिले राम्रो लयमा छन । उनको कौशलले सबैको मन जित्न सफल भएको छ । २१ वर्षका पोर्चुगलका यी खेलाडीलाई एथ्लेटिको मड्रिकाले विशेष खेलाडी पनि मानेको छ ।

स्पेनिस फुटबल लेखक गुइलम बलागुइको विचारमा पनि फिलिक्समा मेसी र रोनालल्डोको स्थान लिन सक्ने क्षमता छ । उनले भनेका छन् ‘फिलिक्सले एथ्लेटीकोका लागि निकै राम्रो प्रदर्शन गरेका छन् । उनलाई प्रशिक्षक डिएगो सिमिवनले आप्mनो इच्छा अनुसार खेल्न दिएका छन्, मलाइ लाग्छ उनीले भविष्यमा मेसी र रोनाल्डोको स्थान लिनेछन् ।’

त्यस्तै, बिबिसीका प्रमुख फुटबल लेखक फिल म्याकनुल्टीले पनि फिलिक्सलाई पोर्चुगिज टिममा नै रोनाल्डोको स्थान लिनसक्ने खेलाडीका रुपमा लिएका छन् ।

जाडन सान्चो

१९ बर्षिय इङ्गल्याण्ड तथा डर्टमण्डका यी विङ्गर पनि धेरैको नजरमा पर्न सफल भएका छन् ।

टोटनह्यामका पूर्वमिडफिल्डर जर्मैन जिनासको नजरमा पनि सान्चो परेका छन् । उनले भनेका छन्, ‘सान्चोको धेरै खेल मैले हेरेको छु, उनको खेलबाट म प्रभावित पनि भएको छ । उनी गोल गर्ने मात्र होइन, गोलका लागि विभन्न अवसर पनि सिर्जना गरिरहेका हुन्छन् । उनले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अबको केही वर्षमा उनी विशेष खेलाडी बन्नेमा कुनै शंका छैन ।’

अन्सुमन फाती

१७ वर्षका यी विङ्गर बार्सिलोना तथा स्पेनको यु–२१ टिमबाट खेलिरहेका छन् । फातीको खेल कौशलले सबैको मन जित्न सफल भएको छ । उनी बार्सिलोनाको सिनियर च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि हुन् ।

स्पेनीस फुटबल लेखक गुइलम बलागुइले भनेका छन्, ‘उनको खेल्ने शैली मेसीसँग मिल्दोजुल्दो पनि छ । उनका ड्रिबलिङ र फिनिसिङ पनि निकै राम्रो छ ।’

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड

इङ्गल्याण्ड तथा लिभरपुलका २१ वर्षीय यी खेलाडीलाई पनि भविष्यमा चम्किन सक्ने खेलाडीका रुपमा हेरिएको छ । उनी सन् २०१९ मा ब्यालोन डि ओरका लागि उत्कृष्ट ३० खेलाडीमा पर्न सफल पनि भएका छन् । लिभरपुललाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका ट्रेन्टबारे बिबिसीका प्रमुख फुटबल लेखक फिलले भनेका छन्, ‘उनको पास गर्ने क्षमता अद्भुत छ । उनी गोलको अवसर सिर्जना गर्ने कुरामा पनि निकै सोचेर अगाडि बढेका हुन्छन्, उनको आक्रमण गर्ने शैली पनि निकै उत्कृष्ट छ ।’

काइ हार्भाटेज

जर्मनी तथा बार्यन लिभरकुसेनका यी मिडफिल्डर अहिले २० वर्षका मात्र भए । तर, उनले आफ्नो प्रदर्शनबाट धेरैको मन जितिसकेका छन् । उनी पनि अबको केही वर्षपछि चम्किन सक्ने खेलाडीमा पर्छन् । उनले यो उमेरमा नै बुन्डेस लिगामा १०० भन्दा बढी खेल खेलेका छन् र भविष्य पनि राम्रो देखाएका छन् ।

युरोपियन फुटबल लेखक किस्टोफ टिरौरको विचारमा हार्भाटेज जर्मन फुटबलमा देखिएका निकै प्रतिभाशाली खेलाडी हुन् र उनी भोलिका लागि विश्वकै उत्कृष्ट मिडफिल्डर बन्ने क्षमताका पनि छन् ।

फिल फोडेन

इङ्गल्याण्ड तथा म्यान्चेस्टर सिटीका १९ वर्षीय यी मिडफिल्डर च्याम्पियन्स लिग खेल्ने सबैभन्दा कान्छा इङ्गलिस खेलाडी हुन । सन २०१७ को डिसेम्वर ६ मा च्याम्पियन्स लिगमा डेब्यु गर्दा फोडेन १७ वर्ष १९२ दिनका मात्र थिए ।

म्यान्चेस्टर सिटीका पूर्वखेलाडी मिकाह रिर्चडको विचारमा पनि फोडेन भविष्यमा चम्किन सक्ने खेलाडी हुन् ।

उनले भनेका छन्, ‘मलाई लाग्छ फिल प्रिमियर लिगका उत्कृष्ट युवा प्रतिभाहरुमध्ये एक हुन । मलाई के लागि रहेको छ भने उनले टिममा कम मौका पाइरहेका छन् । फोडेनले सिटीमा विश्वकै उत्कृट खेलाडीहरुसँग सिक्ने मौका पाएका छन् । मलाई लाग्छ उनी भविष्यमा उत्कुष्ट मिडफिल्डर भएर निस्कने छन् ।’

रोड्रिगो

ब्राजिल तथा रियल मड्रिडका १८ वर्षका यी विङ्गरले पनि आफ्नो खेल कौशलबाट धेरैलाई प्रभावित बनाएका छन् । उनको स्पिडको धेरैले प्रशंसा पनि गरिरहेका छन् । युरोपियन फुटबल लेखक किस्टोफ टिरियुरले पनि रोड्रिगोलाई निकै प्रतिभाशाली खेलाडीको संज्ञा दिएका छन् ।

उनले भनेका छन्, ‘रोड्रिगो निकै प्रतिभाशाली खेलाडी हुन्, उनले च्याम्पियन्स लिगमा ह्याट्रिक गरेर यो कुराको पुष्टि गरिसकेका छन् । उनले रियल मड्रिडमा रहेर धेरै कुरा सिक्ने मौका पाएका छन् । यसले उनको उचाइ पनि बढाइदिएको छ ।’

मसोन ग्रिनउड

१९ वर्षका यी स्ट्राइकर अहिले इंग्ल्यान्डको यु २१ टिममा र म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका खेलाडी हुन् । उनलाई अहिले नै रोबिन भान पर्सीजस्तो खेलाडी भनेर धेरैले प्रशंसा गरेका छन् ।

म्यानचेस्टर सिटीका पूर्वखेलाडी मिकाहले पनि उनको प्रशंसा गर्दै उनले अब मेसी र रोनाल्डोलाई जित्न सक्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘मलाई मसोनको खेल निकै मन परेको छ, उनी कुशल तरिकाले विपक्षी डिफेन्डरलाई बिट गर्छन् । उनले भविष्यमा राम्रो खेलाडी बन्ने लक्षण देखाइसकेका छन् ।’

फिरान टोरेस

२० वर्षका यी विङ्गर अहिले स्पेन यु –२१ तथा भ्यालेन्सियाबाट खेलिरहेका छन् । उनलाई पनि धेरैले भविष्यमा चम्कन सक्ने खेलाडीको रुपमा हेरेका छन् । टोरेसले भ्यालेन्सियामा आफुलाई महत्वपुर्ण खेलाडीको रुपमा स्थापित गराइसकेका छन् ।

स्पेनिस फुटबल लेखक गुइलमले भनेका छन्, ‘टोरेस छिटो छन्, गोल निकाल्न पनि उत्कृष्ट छन् । उनको भविष्य निकै उत्कृष्ट खेलाडीका रुपमा चित्रण गर्न सकिने खालको छ ।’

डेली अली

अलीलाई पनि भविष्यमा चम्कन सक्ने खेलाडीका रुपमा हेरीएको छ । इङ्गल्याण्ड तथा टोटनह्यामबाट खेलिरहेका यी २५ वर्षका मिडफिल्डरले अहिले निकै प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।

टोटह्यामका पूर्वखेलाडी जर्मानी जेनासले पनि उनलाई उत्कृष्ट खेलडीको रुपमा हेरेका छन् । उनले भनेका छन्, ‘अब टोटनह्याममा जोसे मउरिन्हो आएका छन्, यसले अलीको प्रदर्शनलाई अझ माथि पुर्याउने विश्वास मैले लिएको छु ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार