उपचारको खोजिमा सुवास र ग्यावल

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

हरि कोइराला/मिक्लाजुङ(मोरङ) – न दुख्छ ,न त बिजाउँछ नै । झट्ट हेर्दा डरलाग्दो देखिए पनि उहाँलाई कुनै शारीरिक र मानसिक असर भने भएको छैन । तर, उमेरसँगै बढेको मासुको डल्लोले (ऐंजेरु )मोरङको मिक्लाजुङ–५ खोलिटारका सुवास राईलार्ई औधी चिन्तित बनाएको छ ।

उहाँको देब्रे गालामा पलाएको मासुको डल्लो नहुँदो हो त उहाँ यतिबेला बैदेशिक रोजगारमा हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ –सानो छँदा मासुको सानो लुर्को मात्र थियो । उसैबेला उहाँका बाबु आमाले सुवासको उपचार गर्ने प्रयत्न गर्नुभयो ।

तर,उपचार भन्दा बिहान बेलुकाको जाउलो जुटाउने समस्या जटिल बनिदिँदा सुवासको गालामा पलाएको ऐंजेरु पत्तै नपाई निक्कै ठूलो भइसकेको छ । मोरङको दुर्गम गाउँ खोलिटारमा बस्दै आउनु भएका सुवास भन्नुहुन्छ – आर्थिक अवस्था कमजोर छ ।

दैनिक मजदुरी नगरी खान पुग्दैन । सानो छदाँ त उपचारको कुरा चलिरहन्थ्यो ।’तर आमाको मृत्यु भएपछि सुवासको उपचार हुने सम्भावना झनै कमजोर भयो । कक्षा–७ सम्म अध्ययन गर्नु भएका सुवास अहिले ३२ वर्षको हुनुभयो ।अझै अबिबाहित सुवास मजदुरी गरेर कमाएको पैसा खानपानमै सकिने बताउनु हुन्छ । आफ्नो कमाइले उपचार गर्न सकिएला भन्न लाग्न छोडेको छ , सुवासलाई अचेल । उहाँ भन्नुहुन्छ – कसैले सहयोग गरे उपचार गराउँथे । उपचार भइदिए खोलिटारमा खुम्चिएर बस्नु नपर्ने उहाँको भनाई छ ।

त्यसो त ऐजेरुले उहाँलाई कुनै दुख दिएको छैन् । खेती किसानीका काम उहाँ निर्वाध गर्नुहुन्छ । यति हुँदाहँुदै पनि उहाँको मनमा शान्ति भने छैन् ।

उपचार गरेर ऐंजेरु फाल्न पाए दुई चार पैसा कमाउन यसो बाहिर निस्कन सकिन्थ्यो कि भन्ने सपना देख्नु भएको छ सुवासले ।
सुवास मात्र होइन उहाँका भाइ ग्यावल राईको हातमा समेत ऐंजेरु पलाएको छ । ग्यावलको ऐजेरुका कारण घरायसी काम काजमा सुवासको जिम्मेवारी थपिएको छ । भाइ ग्यावलको हातले काम गर्न भर पाउँदैन ।

दुबै दाजुभाइ शारीरिक रुपमा कमजोर हुँदा दैनिक जीवन निर्वाह गर्न नै अप्ठ्यारो भएको सुवास बताउनु हुन्छ । ग्यावलले पैसाको अभावले उपचार गर्न नसकिएको बताउनु भयो । ‘सरकारले निशुल्क उपचार गरिदिने कुरा सुनेको भए पनि त्यसबारेमा आफूहरू अनभिज्ञ रहेको उहाँले बताउनु भयो । २७ वर्षीय ग्यावलको दाहिने हातको कान्छी र माझी औंलो अठिया केरा जस्तै सुनिएको छ । घाम र पानी छल्ने सानो झुप्रो बाहेक आफ्नो केही नभएका राई दाजुभाइ अर्काको ५ कट्ठा जग्गा अधिया गर्नुहुन्छ ।

दुबै दाजुभाइ अबिबाहित हुँदा बुबाको पालन पोषणमा समेत समस्या भएको छ । सुवास र ग्यावलले भन्नुभयो–‘गरिवलाई मात्र ईश्वरले हेप्दा रहेछन् । ’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार