पौडेल समूहले सभापति देउवालाई यसरी सताएको रहेछ, बाहिरियो भित्री कुराहरू

२०७६ पुष २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरूको भेलालाई अवैधानिकको संज्ञा दिएका छन् ।

रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा सोमबार आयोजना गरेको साक्षत्कारमा उनले भने, ‘उहाँहरूले बोलाउनुभएको आफू पक्षधर जिल्ला सभापतिहरूको भेला नै अवैधानिक छ ।’

‘उहाँहरुले जसरी सभापतिलाई विधिसंगत ढंगबाट अघि बढेन भनेर आरोप लगाएर विधानविपरित भएको गुनासो गरिरहुनभएको छ’, उनले भने, ‘स्वभाविक हिसाबले उहाँहरूले गरिरहेको क्रियाकलाप पनि विधान विपरित छ ।’

विश्वकर्माले भने, ‘कुनैपनि केन्द्रीय कार्यसमितिका ८५ सदस्य र पदाधिकारीमध्ये एक जनाले कुनै औपचारिक कार्यक्रम गर्नको लागि केन्द्रीय कार्यसमितिको स्वीकृति लिनुपर्ने हुन्छ ।’

‘उहाँहरूले जसरी औपचारिक बैठक बस्नको लागि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गरेको छैन्’, उनले भनेका छन्, ‘जिल्ला सभापतिहरूको बारेमा विधानले विधानतः कुनै पनि संगठन मान्दैन् ।’

पौडेल समूहले बोलाउँदा उनीहरूकै समूहका अधिकांश सभापतिहरूले पार्टीलाई जुटाउनेभन्दा फुटाउनेतर्फ प्रेरित गरेकाले आफूहरू आउन नसक्ने भनेर जवाफ दिएको पनि आफूहरूको जानकारीमा आएको उनले स्पष्ट पारेका छन् ।

नेता विश्वकर्माले सभापति शेरबहादुर देउवा विधानविपरित हिँडेको भनेर लगाइएको आरोपमा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।

‘सभापतिले त्यस्तो गर्नुभएको छैन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले विधानविपरित केही पनि गरेको छैन् भन्ने कुराको प्रमाण अहिले जसले पार्टी कार्यालयमा अनौपचारिक जिल्ला सभापतिहरूको भेला बोलाएर छलफल गर्दै हुनुहुन्छ उहाँहरूले पेश गर्नुभएको ९ बुँदे प्रस्ताव, त्यसलाई शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय कार्यसमितिले हुबहु पारित गरिदिएको छ’, उनले भनेका छन् ।

पौडेल समूहले आफूहरूको अनुपस्थितिमा किन निर्णय गरियो भनेर भनेको कुरामा पनि उनले खण्डन गरेका छन् । ‘हाम्रो अनुपस्थितिमा किन पारित गरियो ? भन्ने कुरामा चाहीँ झुक्याएर पारित गरेको होइन्’, उनले भने, ‘मंसिर २६ गतेको केन्द्रीय समितिको बैठकमा उहाँहरूको सबै प्रस्ताव मानिदिएपछि उहाँहरूसँग अर्को नयाँ बखेडा थिएन् ।’

‘त्यही भएर पौडेल समूहको आग्रहमा २ दिन पछि (मंसिर २८ गते) सारिएको स्मरण गराए’, उनले भने, ‘मंसिर २८ गते उहाँहरूले प्याकेज भन्ने नयाँ प्रस्ताव ल्याउनुभयो । त्यो प्याकेजलाई नेतृत्वले स्वीकार गरिदियो ।’

‘बैठक पुस ४ गते सारियो । ४ गते फेरि उहाँहरूले विषय पाउनुभएन र नेविसंघ र तरुण दलभित्रको प्रतिशतको कुरा उठाउनुभयो’, नेपाली कांग्रेसका नेता विश्वकर्माले भने, ‘त्यो प्रतिशतमा लगभग लगभग कुरा मिलिसकेपछि अब तेस्रो गुटको बारेमा कुरा उठाउनुभयो ।’

पुस ११ गतेको बैठकमा पौडेल समूह बिना जानकारी अनुपस्थिति भएको पनि उनले सुनाए । ‘उहाँहरूले विधानविपरित सभापति हिड्यो भन्नुभयो’, उनले भने, ‘उहाँहरू बैठकमा आउनुभएन् । ४ गतेको बैठकपछि सभापति त असन्तुष्टि नेताहरूको घरघरमा जानुभयो । नेताहरूको कुरा सुनेर उहाँहरूको सबै माग पूरा गरिदिन्छु भनिदिनुभयो ।’

उनले पार्टीलाई कमजोर पार्ने काम कसैबाट पनि गर्न नहुने धारणा राखे ।

यसअघि कार्यसम्पादन समिति २५ सदस्य रहेको बताउँदै त्यतिवेला २९ सदस्यीय बनाइएको उनले सुनाए । त्यतिवेला पनि उनीहरूकै आग्रहमा थपेर २९ सदस्यीय बनाईएको उनको भनाई छ ।

संसदीय बोर्ड बनाउँदा १५ मा ७ सदस्य थपिएको पनि उनले सुनाए । निर्वाचन हारेपछि पौडेल समूहले अवैधानिक कार्यसम्पादन समिति र संसदीय बोर्डले गर्दा चुनाव हारियो भनेर आरोप लगाएपछि सभापतिले दुवै समिति विघटन गरिदिएको पनि उनले सुनाए । उनले भने, ‘सभापति त सारै सजिलो मान्छे, जे भन्यो त्यही मान्ने ।’

पौडेल समूहले नेविसंघको तदर्थ समिति बनाउनुपर्ने माग राखेको सुनाए । उनले भने, ‘उहाँहरूले ३२ माथिको बनाउनुपर्छ भन्नुभयो, त्यो पनि सभापतिले मान्नुभयो । उहाँहरूले ५० प्रतिशत माग्नुभयो । त्यो पनि सभापतिले दिनुभयो । तर, ५० प्रतिशतमा सिटौला समूहलाई पनि दिनुहोस भन्दा उहाँहरूले मान्नुभएन् ।’ सभापति देउवा सहमतिको आदर्श बोकेर हिड्ने नेता भएको उनको टिप्पणी छ ।

पौडेल समूहले अहिले असन्तुष्टिको गीत गाएको उनको आरोप छ । उनले भने, ‘पौडेल समूह अहिले कुनैपनि सांगठानिक महत्व नहुने प्लेटफार्ममा बैठक गरिरहनुभएको छ । २०५५ सालमा सभापति गिरिजाप्रसाद कोइराला रहेको बेला यसैगरी किसुनजीले गुनासो गरेर बाहिर निस्किँदा उहाँले जिल्ला सभापतिहरूको भेला बोलाउनुभएको थियो । त्यो बेला उहाँले किसुनजीका नजिकका १७ जिल्ला सभापतिलाई एकै रातमा पदबिहीन बनाइदिनुभएको थियो । भोलिपल्ट बिहानै प्रवक्ताहरूको खारेजी भएको थियो । केन्द्रीय समिति पूनर्गठन भएको थियो ।’

सभापति देउवाले वरिष्ठ नेता पौडेल तनहुँ गएको बेला, पाथीभरा गएको बेला वा राति सुतेको बेला बैठक नबोलाएको पनि उनले स्पष्ट पारे । उनले भने, ‘उहाँ बिरामी भएर अस्पताल बसेको बेला बैठक बोलाएको हो ? म प्रश्न गर्न चाहन्छु । होइन ।’
अहिले सभापति देउवाले सानेपामा विपक्षीहरूलाई भेला गर्न दिएको उनले सुनाए । उनले भने, ‘कुनै होहल्ला छैन् । कहीँ प्रतिक्रिया पनि छैन् । अनि त्यस्तो व्यक्ति तानाशाही हुन्छ ? त्यस्तो व्यक्ति निरंकुश हुन्छ ? अनि त्यस्तो व्यक्ति असक्षम हुन्छ ? पटक्कै होइन् ।’

उनले अहिलेको जिल्ला सभापतिहरूको भेला महाधिवेशनलाई लक्षित गरेर सभापतिको बलियो उम्मेदवार शेरबहादुर देउवालाई लाञ्छना लगाएर हिलो छ्यापेर चरित्र हत्या गरेर, बात लगाएर, कमजोर बनाउने मक्शतबाहेक अरु केही पनि नभएको जिकिर गरेका छन् ।

उनले सामान्य विषयमा जिल्ला सभापतिहरूलाई पुषको जाडोमा बोलाएर दुःख दिनु राम्रो नभएको भन्दै पौडेल समूहको आलोचना गरे । उनले भने, ‘अहिले देशमा धेरै विषय छन् । विभिन्न विधेयकहरूको बारेमा आलोचना भैरहेको छ । पार्टी त्यतातिर केन्द्रित हुनुपर्छ । यसरी पार्टी चल्दैन् ।’

उनले भने, ‘आजपनि मलाई लाग्दैछ कि सामान्य चित्त दुखाइको कुरामा, नेविसंघमा को मान्छेको सट्टा को मान्छे राख्न ? र कतिजनाको सट्टा कति जना राख्नका लागि सभापतिहरुलाई यो पुसको जाडोमा काठमाडौं बोलाएर यो जुन झमेल गरिरहनुभएको छ, मलाई लाग्छ उहाँहरुले मच्छेड मार्नको लागि उहाँहरुले एके फोर्टी सेभेन पड्काउँदै हुुनुहुन्छ ।’

उनले पौडेल समूहको चित्त दुखाई निर्देशित भएकोले सभापति देउवाले चित्त बुझाउन समय लागेको पनि तर्क गरेका छन् । ‘अहिले सभापतिलाई कमजोर देखाउने नाममा साथीहरूले जथाभावी, असंवैधानिक, अवैधानिक र अराजनीतिक गतिविधिहरूको पनि अभिव्यक्ति आउन थाल्यो’, उनले भने, ‘हिजोमात्रै वरिष्ठ नेताको अभिव्यक्ति चितवनमा देख्नुभयो होला, यदि मान्नुहोला मैले यो मञ्चबाट नेपाली कांग्रेस फलानो मितिबाट रहँदैन भने भने पार्टी चाहीँ रहन्छ तर म चाहीँ रहिँदन् । तर नेताले के भन्नुभयो अब नेपाली कांग्रेस रहँदैन् ।’

‘अर्का नेताले के भन्नुभयो कांग्रेस पार्टीमा मत हाल्दाखेरि मेरो हात काँप्छ भन्नुभयो । अर्को नेताले के भन्नुभयो फलानो भूभाग फलानोलाई दिए हुन्छ । यस्तो भन्न पाइन्छ ?’, उनले भने, ‘अनि उनीहरुचाहीँ पार्टी जोगाउने, पार्टी बचाउने, देश बचाउने, अनि पार्टी सभापतिले भन्नुभयो–लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो नेपालको हो महामहिम राजदूत, तपाईले के गर्दैहुनुहुन्छ ? यो नक्शा तत्काल खारेज गर्नुहोस भनेर टेलिफोन गर्ने सभापतिलाई चाहीँ सभापतिले त्यसो भन्नुहुँदैन थियो म लज्जित भएको छु भन्ने नेताहरू अहिले यो अभियानमा छन् ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार