sajalsandesh

नेपाल घुम्न आउने पर्यटकसँगै भित्रिने रोग नियन्त्रणबारे सरकार नै बेखबर

काठमाडौं– सन् २००४ मा नेपालमा पहिलो पटक डेंगुको संक्रमण देखियो । त्यतिबेला नेपाल घुम्न आएका एकजना विदेशी नागरिकमा डेंगु देखिएको थियो ।

सन् २००४ मा नेपाल घुम्न आएका विदेशी नागरिकसँगै ‘आएको’ डेंगुले बेला–बेलामा प्रकोपको रुप लिने गरेको छ ।

डेंगुबाट साउन यता मात्र १४ हजार भन्दा बढी बिरामी परे । गत बैशाखमा धरानबाट फैलिएको डेंगु नियन्त्रणमा ल्याउनै हम्मे पर्‍यो । सरकारले नियन्त्रण नर्ग नसकेको डेंगु जाडो मौसम शुरु भएपछि आफैं ‘नियन्त्रण’मा आयो ।

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अभिलेखले विदेशी नागरिकबाटै नेपालमा डेंगुको प्रकोप भित्रिएको देखिन्छ ।
विदेशी नागरिककै कारणबाट नेपालमा देखा परेको अन्य रोगबारे भने सरकारसँग कुनै अभिलेख छैन । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउँदै छ । जनवरी १ (पुस १६ गेत) ‘भव्य’ कार्यक्रम गरी भ्रमण वर्षको घोषणा पनि भइसकेको छ ।

तर, नेपाल घुम्न आउने पर्यटकको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिम, पर्यटकसँगै नेपाल भित्रिन सक्ने संभावित रोग तथा त्यसको नियन्त्रणका लागि गर्नुपर्ने तयारीबारे अझै स्पष्ट कार्ययोजना बनाइसकेको छैन ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले नेपाल भ्रमण वर्षलाई ‘आर्थिक समृद्धिको राष्ट्रिय अभियान’का रुपमा लिएको छ । तर, नेपाल भित्रिने २० लाख पर्यटकसँगै आउन सक्ने सम्भावित रोगबारे भने ‘नजरअन्दाज’ गरिएको जनस्वास्थ्य अधिकारकर्मीहरुको आरोप छ ।

केही वर्ष अघि अफ्रिकामा इबोला भाइरसको संक्रमण फैलिए पछि नेपाल सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको थियो । तर सो हेल्थ डेक्स कर्मचारी अभावले आफैं वेवारिसे अवस्थामा छ ।

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो पौने २ बजे खबरहबकर्मी पुग्दा विमानस्थलभित्रको हेल्थ डेक्समा ताला लगाइएको थियो ।

त्यहाँ काजमा खटिएका सहायक स्वास्थ्य कार्यकर्ता (अहेव) गोपाल पाण्डे डेल्थ डेक्समा ताला लगाएर स्वास्थ्य सेवा विभागतिर गएका थिए । फोन सम्पर्क गर्दा ४ बजेपछि मात्र विमानस्थलमा आउन सक्ने उनको भनाइ थियो । खबरहबकर्मीसँगको टेलिफोन कुराकानीमा उनले आफू हेल्थ डेस्कमा काम गर्ने आफू एक्लै कर्मचारी भएको र अन्यत्र काम पर्दा ताला लगाएर हिँड्नुपर्ने बाध्यता रहेको सुनाए ।

‘म त भर्खरै बाहिर निस्किएको छु, त्यहाको कर्मचारी म मात्र हो । अहिले त अरु कोही पनि हुनुहुन्न,’ हेल्थ डेक्सका कर्मचारी पाण्डेले फोनसम्पर्कमा भने, ‘४ बजेपछि मात्र आउँछु होला ।’

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विदेशी पर्यटकबाट नेपाल भित्रिन सक्ने सरुवा रोगको जोखिम कम गर्न विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको थियो ।

विमानस्थलको हेल्ड डेस्कमा नेपाल भित्रिएका विदेशी नागरिकको स्वास्थ्य अवस्था बुझ्ने र बिरामी वा रोगी जस्तो देखिएमा उनीहरुको तत्काल स्वास्थ्य परिक्षण हुनुपर्ने हो ।

यसअघि कर्मचारी हुँदा अफ्रिकी मुलुकबाट आएका पर्यटकको इबोलाको शंका लागेमा स्क्रीनिङ गर्ने गरिए पनि हाल कर्मचारी अभावका कारण स्क्रीनिङको काम ठप्प भएको अहेब पाण्डेले बताए ।

‘पहिला त ६ जना कर्मचारी थियौं, समायोजनले गर्दा सबैको सरुवा भयो, मेरो पनि चन्द्रागिरीमा सरुवा भएको थियो, मेरो चाहिँ मंसिरदेखि काजमा यतै मिल्यो त्यसैले म अहिले विमानस्थलको हेल्थ डेक्समै छु,’ अहेब पाण्डेले खबरहबसँग भने, ‘अहिले त सेवा अवरुद्ध नै छ, एक्लैले काम पनि कसरी गर्नु ?’

आफू एकजना मात्र कर्मचारी भएकाले दिनमा एकपटक हेल्थ डेक्सको ताला खोल्न मात्र विमानस्थल पुग्ने गरेको उनले बताए ।

‘हेल्थ डेक्सले नेपाल आउने पर्यटकमा इबोला लगायत कुनैपनि रोग छ कि भनेर शंका लागेमा सोधपुछ गर्ने, कुनै रोगको लक्षणहरु देखिएको पाइएमा परीक्षणका लागि अस्पतालमा पठाउने काम गर्नुपर्ने हो,’ अहेब पाण्डेले भने, ‘एकजनाले २४ घण्टा नै खटिन सक्ने अवस्था छैन, एक्लै भएपछि एकछिन–एकछिन पुग्ने गरेको छु ।’

पर्यटकसँगै भित्रिन सक्छन् यस्ता रोग

स्वास्थ्यकर्मीहरुका अनुसार नेपाल घुम्न आउने पर्यटकसँगै उनीहरुको देशमा देखा परेका रोगहरु भित्रिन सक्छन् । पर्यटकसँगै भित्रिनेमा अधिकांश कडा खालका सरुवा रोग हुन्छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाका अनुसार नेपाल आउने पर्यटकहरुसँगै उनीहरुको देशमा देखिएको रोग भित्रिन सक्छ । यस्तै, कतिपय पर्यटकहरु विभिन्न देश भएर नेपाल भित्रिने गरेका कारण पनि उनीहरुले घुमेका देशमा देखिएको रोग पनि नेपाल भित्रिन सक्छ ।

‘अहिलेको सिजनमा पर्यटकसँगै इन्फ्लुएन्जा नेपाल भित्रिने सम्भावना छ, कुनैपनि देशमा आउटव्रेक भएको रोगहरु हाम्रो देशमा पनि त्यसलाई वातावरण मिल्ने भयो भने नेपालमा पनि पर्यटकसँगै त्यो रोगहरु भित्रिन सक्छ,’ डा बास्तोलाले खबरहबसँग भने, ‘जस्तै इन्फ्लुएन्जा आउटव्रेक भएको छ भने त्यो नेपाल भित्रिन सक्छ, नयाँ किसिमको डेंगु भाइरस लगायतको कुनै पनि सरुवा रोग नेपाल आउन सक्ने सम्भावना रहन्छ ।’

शुक्रराज अस्पतालका अर्का सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन पनि नेपालमा पर्यटकसँगै हावा र पानीको माध्यमबाट सर्ने रोगहरु नेपाल भित्रिन सक्ने बताउँछन् ।

‘नेपाल आउने पर्यटकहरुबाट उनीहरुको देशमा भएको रोगहरु विशेषगरी लामखुट्टेबाट सर्ने रोग, हावा र पानीको माध्यमबाट सर्ने रोग, शारीरिक सम्पर्कबाट सर्ने रोगहरुको जोखिम उच्च छ,’ डा पुनले भने, ‘लामखुट्टेजन्य रोगमा जिका भाइरस नेपालमा भित्रिन सक्ने जोखिम छ, निपा भाइरस, डेंगु, चिकुनगुनिया जस्ता रोगहरु नेपाल भित्रिने जोखिम उच्च छ । नेपालमै भएको रोगहरुमा पनि ती रोगका फरक भाइरस तथा प्रजातिको रोगहरु नेपाल भित्रिने सम्भावना छ ।’

पर्यटन वर्षमा भित्रिने लाखौं पर्यटकबाट रोगहरु भित्रिने खतरा हुनसक्ने भएकाले सरकारले पर्यटकसँगै भित्रिने रोग र त्यसको सम्भावित जोखिमबारे पूर्व तायारी गर्नुपर्ने डा पुन बताउँछन् ।

‘सरकारले बाहिर देखिने गरी काम शुरु नगरे पनि त्यसको तयारी पक्कै पनि गर्दै छ होला,’ डा पुनले भने, ‘बिशेष त कुन देशमा कस्तो रोगको संत्रलमण फैलिएको छ, र ती देशबाट आउने पर्यटकको विमानस्थलमा चेकजाच गर्नुपर्छ । त्यसका लागि विमानस्थलमा भएको हेल्थ डेक्सलाई प्रभावकारी बनाएर सञ्चालन गर्न गरेर बेलैमा सचेत हुनुपर्छ ।’

सरकारको कमजोर तयारी

जनस्वास्थ्य अधिकारकर्मीहरुका अनुसार सरकारले पर्यटन वर्षको तयारीअन्तर्गत पर्यटकमा हुनसक्ने स्वस्थ्य जोखिम र त्यसको व्यवस्थापन तथा नेपालमा भित्रिन सक्ने रोगबारे गम्भीर रुपमा सोचेर पूर्व तयारी गर्नुपर्ने हो । तर, पर्यटन र स्वास्थ्यसँग सम्बन्धित संकृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा यी दुई मन्त्रालय मातहतका विभिन्न निकायहरुको तयारी कमजोर देखिन्छ ।

सरकारले जनवरी १ अर्थात पुस १६ गते भ्रमण वर्षको घोषणा गर्‍यो । तर त्यसको ठीक अघिल्लो दिनमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भ्रमण वर्षको विषयमा छलफल र केही निर्णय गर्‍यो ।

स्वास्थ्य मन्त्रालयमा भएको सचिवस्तरीय बैठकले नेपाल भ्रमण वर्ष २०२० मा पर्यटक लक्षित स्वास्थ्य सेवा प्रवाह सम्बन्धी ९ बुंदे निर्णय गर्‍यो । स्वास्थ्य मन्त्रालयमा भएको बैठकको निर्णयले पर्यटकहरुलाई नेपालमा स्वास्थ्य सेवा प्रवाह गर्ने विभिन्न स्वास्थ्य संस्थाहरु सम्बन्धी विवरण तयार पारी पर्यटन मन्त्रालयलाई उपलब्ध गराउने, सबै स्वास्थ्य संस्थाहरुलाई पर्यटन वर्ष २०२० भरी नै पर्यटकको नियमति तथा आकस्मिक स्वास्थ्य सेवामा विशेष प्राथमिकता दिन निर्देशन दिने निर्णय गर्‍यो ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य सेवा विभागबाट संचालित हेल्थ डेक्सलाई नर्भिक अन्तर्राष्ट्रिय अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले संचालन गरेका हेल्थ डेक्ससँग समन्वय गरी थप प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको छ ।

यस्तै, नागरिक उड्डयन प्राधिकारण र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुसँगको समन्वयमा सन् २०२० भित्रमा संचालन हने अन्तर्राष्ट्रिय विमानस्थलहरुमा हेल्थ डेक्स संचालन गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको सचिवस्तरीय बैठकले पुस १५ गते गरेका यी निर्णय अहिलेसम्म कार्यन्वयनमा भने आएका छैनन् ।

पर्यटकसँगै सरुवारोग भित्रिन सक्ने भएकाले त्यसको पूर्व तयारीमा लाग्नुपर्ने निकायमा स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पनि एक निकाय हो । तर, महाशाखाका प्रमूख विवेक लाल कर्णले भने मन्त्रालयगत निर्णय भए पनि त्यसको कार्यन्वयन नभइसकेको बताए ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निर्णयले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपाल भित्रिने भारतीय सीमा नाकामा हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरेको डा लालले बताए ।

पर्यटक भित्रिने नाकामा हेल्थ डेक्स स्थापनाका लागि प्रत्येक सीमा नाकामा १० लाख बजेट र करारका प्यारामेडिक्स र नर्सिङ कर्मचारी अस्थायी नियुक्ती गर्ने व्यवस्था छ ।

तर त्रिभुवन विमानस्थलमा कर्मचारी व्यवस्थापन नभइसकेको र अन्य सीमा नाकाको हेल्थ डेक्सबारे आफूसँग कुनै अपडेट नभएको महाशाखाका प्रमुख डा लालले बताए ।

‘त्रिभुवन विमानस्थलमा र ८ वटा सीमा नाकाहरुमा हेल्थ डेक्स रहेको छ, त्रिभुवन विमानस्थलमा पहिला कर्मचारी काजमा खटाउने गरेको थियो, तीन सिफ्टमा कर्मचारी राखेर चलाउनुपर्ने हेल्थ डेक्समा समायोजन पछि एकजना मात्र कर्मचारी हुनुहुन्छ,’ महाशाखाका प्रमूख डा लालले भने, ‘सीमा नाकामा रहेका हेल्थ डेक्सको बजेट स्थानीय तहमा पठाएका छौं, तर कहाँ कहा हेल्थ डेक्स चलिरहेको छ भनेर हामीले यो वर्ष सबै ठाउँमा अनुगमन गरेका छैनौं । सीमा नाकामा रहेको हेल्थ डेक्सको अपडेट अहिले भन्न सक्दिन ।’

ismt college
dish home