राष्ट्रियसभा निर्वाचनमा कहाँ कसको प्रतिस्पर्धा ?

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ – राष्ट्रिय सभाका १८ सदस्यका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगले तोकेको समय आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म ४५ जनाको उम्मेदवारी परेको हो ।

माघ ९ गते प्रदेश–१ बाट ३, प्रदेश–२ बाट ४, प्रदेश–३ बाट २, गण्डकी प्रदेशबाट २, प्रदेश–५ बाट ३, कर्णाली प्रदेशबाट २ र सुदूरपश्चिम प्रदेशबाट २ सदस्य गरी १८ सदस्यका लागि निर्वाचन हुँदैछ।

७ प्रदेशमा महिला समूहतर्फ ७, दलित समूहतर्फ २, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ २ र अन्य समूहतर्फ ७ गरी जम्मा १८ रिक्त पदका लागि निर्वाचन हुन लागेको हो । यो खबर मधुसुधन भट्टराईले कान्तिपुर दैनिकमा लेखेका छन् ।

महिला समूहतर्फ १६, दलित समूहतर्फ.५, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ र अन्य समूहतर्फ १९ गरी कुल ४५ जनाले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

उम्मेदवारले प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, प्रदेश–३ को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश–५ को घोराही, कर्णाली प्रदेशको विरेन्द्रनगर र सुदूर पश्चिम प्रदेशको सिलगढीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रदेश–१

दलित समूहबाट १, महिला समूहबाट १ र अन्य समूहबाट १ गरी ३ सदस्यका लागि निर्वाचन हुँदैछ।
दलित समूहमा कांग्रेसका निरबहादुर विश्वकर्मा, नेकपाका गोपी बहादुर सार्की आछामी र समाजवादी पार्टीका ज्ञान कुमार परियारले उम्मेदवारी दर्ता गरेका छन्।

महिला समूहमा कांग्रेसका मिना पुलामी मगर, नेकपाका इन्दिरा देवी गौतम, र समाजवादी पार्टीका कमला वडहीबीच प्रतिस्पर्धा हुनेछ।

अन्य समूहमा कांग्रेसका राजेन्द्र घिमिरे, नेकपाका देवेन्द्र दाहाल र समाजवादी पार्टीका भरतराज दाहालले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश–२

महिला समूहबाट १, अल्पसंख्यक समूहबाट १, दलित १ र अल्पसंख्यक १ गरी ४ सदस्यका लागि निर्वाचन हुँदैछ।
महिला समूहतर्फ नेकपाका तुलसा कुमारी दाहाल र कांग्रेसका नगिना यादवबीच प्रतिस्पर्धा हुनेछ।
दलित समूहतर्फ नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानबीच, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक समूहतर्फ राजपाका शेखरकुमार सिंह र कांग्रेसका भोला पञ्जियारबीच तथा अन्य समूहतर्फ राजपाका मृगेन्द्र कुमार सिंह यादव र समाजवादी पार्टीका अनिरुद्धकुमार सिंहबीच प्रतिपर्धा हुनेछ।

प्रदेश–३

महिला समूहबाट १ र अन्य समूहबाट १ गरी २ सदस्यका लागि निर्वाचन हुँदैछ।
महिला समूहतर्फ नेकपाकी गंगाकुमारी वेल्वासे, कांग्रेसकी छलीकुमारी शर्मा उपाध्याय र नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेबीच, अन्य समूहतर्फ नेकपाका वेदुराम भुसाल, कांग्रेसका हरिशरण श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ्गबीच प्रतिपर्धा हुने आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

गण्डकी प्रदेश

महिला समूहबाट १ र अन्य समूहबाट १ गरी २ सदस्यका लागि निर्वाचन हुँदैछ।
महिला समूहतर्फ नेकपाकी भगवती न्यौपाने र कांग्रेसकी विमला गौचनबीच, अन्य समूहतफ नेकपा नारायणकाजी श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका शंकर प्रसाद बराल र कांग्रेसका सूर्यप्रसाद रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रदेश– ५

महिला समूह १, अपांग तथा अल्पसंख्यक समूह १ र अन्य समूह १ गरी ३ सदस्यका लागि निर्वाचन हुँदैछ।
महिला समूहमा नेकपाकी विमला घिमिरे, कांग्रेसकी गिरिजादेवी न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ।
अन्य समूहमा नेकपाका गोपाल भट्टराई, कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादी पार्टीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
आपांग तथा अल्पसंख्यक समूहमा नेकपाका जगप्रसाद शर्मा, कांग्रेसका मेराज अहमद् हलवाई र समाजवादी पार्टीका सुनिलकुमार सिंघलबीच भिडन्त हुने निश्चित भएको छ।

कर्णाली प्रदेश

अन्य समूहबाट १ र महिला समूहबाट १ गरी दुई सदस्यका लागि निर्वाचन हुँदैछ।
महिला समूहतर्फ कांग्रेसका गणेशकुमारी बस्नेत र नेकपाका सुमित्रा बिसीबीच अन्य समूहतर्फ कांग्रेसका डिल्लीराम पाठक र नेकपाका मायाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेश

महिला समूहको १ र अन्य समूहको १ गरी दुई सदस्यका लागि निर्वाचन हुॅदैछ।
महिला समूहतर्फ कांग्रेसका तुलसी देवकोटा र नेकपाका शारदा देवी भट्ट, अन्य समूहतर्फ नेकपाका तारामान स्वांर र कांग्रेसका प्रतापसिंह ठगुन्नाबीच प्रतिस्पर्धा हुने निश्चित भएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार