धरान र दमकबाट ४५ जना सडक बालबालिकाको उद्दार

२०७६ पुष २१, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विराटनगर – प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे आफैँ पुगेर ४६ जना सडक बालबालिकाको उद्दार गरेका छन् । शुक्रबार र शनिबार राति घिमिरे आफैँ पुगेर बालबालिकाको उद्दार गरेका हुन् ।

शुक्रबार राति मन्त्रीसहितको टोली धरानस्थित सडक बालबालिका आश्रित भएको स्थान पुग्दा बालबालिकाहरू सुत्ने तयारी गर्दै थिए । चिसोमा कठ्याँग्रिएर बसेका १४ बालबालिकासहित ३० जनाको उद्दार गरी सेफ हाउस लगिएको थियो ।

धरानबाट उद्दार गरिएकाहरुलाई भ्वाइस अफ चिल्डेन पुनस्थापन गृहमा राखिएको छ । मन्त्री घिमिरे धरान पुग्दा संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ पनि सडक बालबालिकाको उद्दारका लागि धरान पुगेका थिए ।

शुक्रबार राति धरानबाट उद्दार गरिएपछि शनिबार दमकबाट १५ सडक बालबालिकाको उद्दार गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए । मध्यरातमा सडक पेटीमा कष्टकर रूपमा रात कटाइरहेकाहरूलाई उद्दार गरी सेफ हाउसमा राखिएको सामाजिक विकासमन्त्री घिमिरेका सहयोगी राम पोखरेलले जानकारी दिए ।

चालु आर्थिक वर्षमा एक नम्बर प्रदेशलाई सडक बालबालिकामुक्त प्रदेश बनाउने घोषणा अनुसार रात्रिकालीन समयमा सडक बालबालिका उद्दारको काम तीब्र बनाइएको मन्त्री घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार