प्रधानमन्त्री निकट अनलाइनलाई ४ लाख दिन २७ बैंकलाई बालुवाटारबाटै पत्राचार : सिइओहरु त्रसित !

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै ठ गी ध न्दा सञ्चालन भएको देखिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको सल्लाहकार समूहबाट उक्त ठगी धन्दा भएको हो ।

सो ठगी धन्दा नेपालकै २७ वटा वाणिज्य बैंकहरुमार्फत गर्न प्रधानमन्त्री निवासबाट नेपाल राष्ट्र बैंक हुँदै नेपाल बैंकर्स एसोसिएसनमा पत्र पुगेको छ । एसोसिएसनले उक्त पत्र सबै २७ वटै वाणिज्य बैंकहरुलाई पठाएको छ । पत्र प्राप्त गरेपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरु त्रसित बनेका छन् ।

एसोसिएसनको तर्फबाट अनिल शर्माले वाणिज्य बैंकहरुलाई पत्र पठाउँदै एउटा समाचारमूलक अनलाइन सञ्चालन गर्दैै आएको ‘कथा नेपाल प्रालि’ नामको कम्पनीलाई प्रत्येक बैंकले चार लाख रुपैयाँको दरले उपलब्ध गराउन भनिएको छ । उक्त ‘कथा नेपाल प्रालि’ नामक कम्पनीले ‘देखापढी डटकम’ भन्ने अनलाइन चलाउँदै आएको छ । उक्त कम्पनीको अध्यक्ष मनोजराज पाण्डे हुन् । पाण्डे विवादास्पद छवि बनाएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालका आफन्त हुन् ।

स्रोतका अनुसार खोलौं बैंक खाता भन्ने राष्ट्रिय अभियानका लागि कथा नेपालले प्रधानमन्त्री कार्यालयमा प्रस्ताव पठाएको र सो कथा नेपालले पठाएको प्रस्तावलाई प्रधानमन्त्रीका सल्लाहकार रिमालको निर्देशनमा प्रस्तावसहित नेपाल बैंकर्स एसोसिएसनमा पठाएको थियो । बैंकर्स एसोसिएसनले आफ्नो ३३औं वार्षिक साधारणसभामा प्रधानमन्त्री कार्यालयबाट आएको पत्रको बारेमा छलफल गरेको थियो । त्यसपछि एसोसिएसनले वाणिज्य बैंकहरुलाई उक्त कथा नेपाललाई प्रारम्भिक चरणमा चार लाख रुपैयाँको दरले चेक उपलब्ध गराइदिनको लागि पत्राचार गरेको छ ।

बैंकर्स एसोसिएसनले कथा नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)बापतको रकम उपलब्ध गराउन भनेपछि बैंकका सीईओहरु कसरी उक्त शीर्षकको रकम उपलब्ध गराउने भन्नेबारे अन्योलमा परेका हुन् । सीएसआरको रकम वाणिज्य बैंकहरुले विद्यालयलाई ब्याग, कम्प्युटर, ल्यापटप, चिसो, हिमपात र बाढी तथा पहिरो पीडितको लागि कपडा, त्रिपाल, खाद्यान्न, वृद्धाश्रमहरुलाई भौतिक सहयोगलगायतका काममा खर्च गर्नुपर्छ । तर, बैंकर्स एसोसिएसनले सोही सीएसआर शीर्षकको रकमबाट मिलाएर कथा नेपाललाई रकम दिन भनेपछि सीईओहरु समस्यामा परेका हुन् ।

वाणिज्य बैंकहरुले आफूले आर्जन गरेको खुद नाफाको रकममध्ये एक प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)मा खर्च गर्नुपर्छ । नेपालमा अहिले रहेका २७ वटा वाणिज्य बैंकहरुमध्ये दुई/तीनवटाको दुई अर्ब रुपैयाँभन्दा माथि खुद नाफा भए पनि अरु बैंकहरुको डेढदेखि दुई अर्ब रुपैयाँ नाफा छ । समग्रमा वाणिज्य बैंकहरुले करिब ५० अर्ब नाफा कमाउँदै आएका छन् । सो रकमको एक प्रतिशत भनेको करिब ५० करोड रुपैयाँ सामाजिक काममा खर्च गर्नुपर्नेछ । बैंकहरुले विज्ञापन प्रकाशित गर्नका लागि उक्त शीर्षकको रकम खर्च गर्न मिल्दैन । कथा नेपाल पनि सञ्चार संस्था चलाउने कम्पनी भएको कारण उसलाई कसरी उक्त पैसा दिने भन्ने विषयमा अधिकांश बैंकका सीईओहरु समस्यामा परेका हुन् ।

केही समय अगाडिसम्म ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दा पाण्डेले सिंहदरबारभित्रै चन्दा आतंक मच्चाएको आरोप लागेको थियो । पाण्डेको क्रियाकलापको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री ओलीले उक्त कार्यक्रम नै बन्द गर्न निर्देशन दिएका थिए । त्यसपछि पाण्डेले आफू मुख्य व्यक्ति बनेर कथा नेपाल प्रालि नामको कम्पनी बनाएका थिए ।

सो कम्पनीले देखापढी डटकम नामको अनलाइन मिडिया सञ्चालन गर्दै आएको छ । त्यसका प्रकाशक पाण्डे आफैं हुन् । अहिले फेरि पाण्डेले आफ्नो पैसा माग्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयबाटै अगाडि बढाउन सफल भएका हुन् । यसले अझै पनि प्रधानमन्त्रीको वरिपरि पैसा उठाएको बलियो जमात क्रियाशील छ भन्ने पुष्टि गरेको छ । पाण्डेको कम्पनीलाई पैसा उठाइदिन प्रधानमन्त्री ओलीले नै पत्राचार गर्न निर्देशन दिएको भन्नेमा चाहिँ आशंका छ । तर, बैंकका सीईओहरुलाई पैसाको लागि ताकेता गर्दा प्रधानमन्त्रीले नै निर्देशन दिएको भनेर सल्लाहकारबाट फोन जाने गरेको बैंकका सीईओहरुले जानकारी दिएको आर्थिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार