ईलामको झझल्को मेटाउदै रत्तनचौनको चियाबगान !

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापा – जाडोको मौसम शुरु भएसँगै झापाको कमल गाउपालिका- १ रत्तनचौनमा रहेको चिया बगानमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर २० पछि आसपासका क्षेत्रबाट वनभोज खान आउनेको घुईचो लागेको हो ।

गौरादह बजारबाट करिब २ किमी कच्ची सडक उत्तर हुदै पुग्न सकिने उक्त्त स्थानमा सबैभन्दा बढी वनभोज खान आउनेहरुको भीड लाग्ने गर्छ । हाल सार्वजनिक विदाका दिन यहाँ ५ देखि १० वटा समूहले पिकनिक खाइरहेका हुन्छन् ।

बगान क्षेत्रमा शैक्षिक भ्रमण, रमाइलो र पिकनिङ खान आउनेको संख्या उल्लेख्य रहेको स्थानिय मनकुमार घिमिरेले बताए । घिमिरेका अनुसार शनिवार पारेर आउने अधिकांस विद्यार्थी र संघ संस्थाका कर्मचारी हुन्छन् । ‘कहिले कहिले त ठाउँ नै पाउँदैनन्’, घिमिरेले भने, ‘ढिलोगरी वनभोज खान आउनेका लागि ठाउँको समस्या हुनेगरेको छ ।’

यहाँ विशेषत गौरादह, जुरोपानी, केर्खा र बगान आसपासका आउने गरेका छन् ।

यहाँ आउनेको आ-आफ्नै अनुभव छ । गौरादहबाट वनभोज खान आएर सेतुमारी खोलाको तिरमा फुटबल खेल्दै गरेका सन्दिप थापाले पृष्ठभूमिमा चियाका बुट्टाका साथ् फोटो खिच्दा ईलामको झ-झल्को मेटिने गरेको सुनाए ।

बनभोज खान आउनेका लागि कुनै शुल्क तोकिएको छैन । सुरक्षाका दृष्टिकोणले पनि यो स्थान उत्तम भएकाले अन्तरिक पर्यटकका लागि एक प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको स्थानीय खेम दंगालले बताए ।

केर्खाकि रमा कार्की यहाँ पिकिनिक खान आएको लगातार तीन साल भएछ । जाडोमा हुस्सु र कुईरोका कारण लामो यात्रा गरेर पिकनिक खान जान डर लाग्ने गरेको उनले सुनाईंन । उनि भन्छिन – नजिक टाढा जहाँ भएपनि रमाईलो गर्नु त हो नि ।

करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको यस बगान महेन्द्र भट्टराई र हरिमाया लोहनीको स्वामित्वमा रहेको छ । यहाँ व्यवस्थित पिकनिक स्थल, पानी, शौचालय र कटेजहरू पनि निर्माण गरिए झापाको सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार