sajalsandesh

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडाैं- आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ ।

काठमाडाैं, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ ।

उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ । उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भैसकेको छ ।

१९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित हुनेछ । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना सदस्य छन् ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेसले आ–आफ्ना दलका उम्मेदवार तोकिसकेका छन् । नेकपाले राजपासँग तालमेल गरेको छ भने कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेर उम्मेदवार सार्वजनिक गरेको छ।

राष्ट्रियसभाका सदस्यको पहिलोपटक एकतिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्काे एकतिहाइको चार वर्ष र बाँकी एकतिहाइको छ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । दुईवर्षे कार्यकाल पूरा गर्ने सदस्यको खाली पदका लागि यो निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् । यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने अर्थात् धेरै मत प्राप्त गर्ने नै विजयी हुने निर्वाचन प्रणालीबाटै उम्मेदवारको चयन हुनेछ ।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सातजना निर्वाचित हुनुहुनेछ । सङ्घीय संसद्को माथिल्लो सभाका रूपमा रहने राष्ट्रियसभामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका प्रबुद्ध व्यक्तिको प्रतिनिधित्व हुने संविधानले परिकल्पना गरेको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्ने÷गराउने कार्यमा सबैको सहयोग र सहभागिताका लागि आयोगले अनुरोध गरेको छ ।

ismt college
dish home