नेपाली युवाले बनाए खेतीपातीमा किसानले मोबाइलबाट चलाएर कीटनाशक औषधी छर्ने ड्रोन

२०७६ पुष २०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं– नेपालमा मात्र होइन, पछिल्लो समय विश्वका विभिन्न देशमा तथा वैज्ञानिक रिसर्च सेन्टरहरुमा ‘ड्रोन’ (मानवरहित विमान)को विकासलाई निकै प्राथमिकतामा राख्न थालिएको छ । यसले मानव सभ्यातालाई तथा आम मानिसको जीवनशैलीलाई कसरी सहज बनाउने भन्ने विषयमा अध्ययन अनुसन्धान भएका छन् ।

त्यसको पछिल्लो उदाहरण केहीअघि दशरथ रंगशालामा दक्षिण एशियाली खेलकुद (साग)को समापनमा पनि देखिएको छ । ड्रोनको प्रयोगले सागको समापन निकै सुन्दर तथा प्रशंसायोग्य भएको थियो ।

विश्वमा ड्रोनकै प्रयोगले पछिल्ला दिनहरुमा घरघरमा औषधि डेलिभरसमेत गर्न थालिएको छ । यसको प्रयोग र एडभान्समेन्टबारे विभिन्न समाचार आइरहेका छन् ।

अनि नेपालमा पनि ड्रोनको अध्ययनले राम्रो विकास पाइरहेको छ ।

शनिबार अर्थात् १२ पुसमा जावलाखेलको एउटा स्टार्टअप मेलामा पनि ड्रोनको यस्तै प्रयोगको उच्चतम नमूना देख्न पाइयो । डिएभी कलेजमा भएको एक कार्यक्रममा देखिएको ड्रोन हो– हामीलाई खेतीपाती गर्न सहयोग गर्ने ड्रोन ।

शम्भु सिवाकोटी र उनका साथीहरु मिलेर बनाएको यो ड्रोनले खेतीपातीमा कीटनाशक औषधि छर्न सहयोग गर्छ ।

काठमाडौं इन्जिनियरिङमा इलेक्ट्रोनिकल इन्जिनियरिङको अध्ययन गरेका सिवाकोटीले सन् २०१४ मा आफ्नो प्रोजेक्टका रुपमा ड्रोन बनाए । त्यसमा पनि उनलाई साथीहरुको सहयोग थियो । त्यही प्रोजेक्टलाई अहिले विस्तारित रुप दिन खोजिरहेका छन्, सिवाकोटी । र, यसको पहिलो परीक्षणस्वरुप उनले यो ड्रोन बनाएका हुन् जसले खेतबारीमा औषधि छर्न सहयोग गर्न सक्छ ।

इलेक्ट्रोनिक्स पढेका सिवाकोटीले त सबैभन्दा पहिले आफूले अध्ययन गरेको विषयकै आवश्यक केही सामान नेपाल ल्याएर बेच्न थालेका थिए । अर्थात्, इम्पोर्टरको रुपमा उनी नेपाली बजारमा छरिन थालेका थिए ।

‘मेरो साथीले कपडा इम्पोर्ट गरेर व्यवसाय गरिरहेको थियो,’ सिवाकोटीले डिएभी कलेजको प्राङ्गणमा सुनाए, ‘त्यही साथीको आइडियाबाट मैले यो सिकेँ । मैले आफ्नै क्षेत्रको सामान ल्याउन थालेँ र आफूले पढेकै कलेजमा बेच्न थालेँ ।’

सामान ओसारपसार गर्दागर्दै सिवाकोटीलाई लाग्यो, ‘अब केही प्रोडक्टमा पनि काम गर्नुपर्छ ।’

त्यही सोचको प्रतिफल हो– मधुका कृषक ।

मधुका कृषक अर्थात् हाम्रो खेतीबालीमा औषधि छरिदिने ड्रोन ।

यसलाई अझ सहज रुपमा बनाउन सकिने हो भने यसले हाम्रो कृषिमा ठूलो क्रान्ति ल्याउन सक्ने विश्वास लिएका छन्, सिवाकोटीले । ‘हामी कृषिप्रधान मुलुक भयौँ,’ उनले भने, ‘त्यसैले हामीले कृषिबाट धेरै नेपालीलाई सहयोग गरोस् भनेर नै यो ड्रोन विकास गरेका हौँ ।’

यो कन्सेप्ट जन्मिएपछि सिवाकोटी रिसर्चका लागि पुगेका थिए, काभ्रे ।

काभ्रेमा त्यहाँका कृषकले बारीमा औषधि छरेको मात्र देखेनन्, सिवाकोटीले, त्यही औषधिका कारण उनीहरुको हातमा चिरा परेको पनि देखे । अनि यसले उनलाई अझ दृढ बनायो, नेपाली कृषकको जीवनशैलीमा केही परिवर्तन ल्याउनु पर्छ, त्यसलाई सहज बनाउनु पर्छ ।

अनि उनले निर्माण सुरु गरे, मधुका कृषक ।

अहिले सिवाकोटीहरुले मधुका ड्रोनबाट पाँच लिटरसम्म विषादी छर्न मिल्ने बनाएका छन् । तर, अब उनीहरु छिट्टै २० लिटरसम्म पानी र औषधि बोक्नसक्ने ड्रोन निर्माणमा जुट्न थालेका छन् ।

यो ड्रोनलाई सिवाकोटीहरुले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)सँगको सल्लाहपछि अझ परिस्कृत बनाउने भएका छन् । ‘हामीले डेमो देखाएपछि उहाँहरुले यसलाई किन्ने हुनुभएको छ,’ उनले भने, ‘नार्कले यसलाई अझ विकसित गर्न सकिन्छ कि भन्ने हेतुले परीक्षण गर्न अरु तीनवटा ड्रोन पनि अर्डर गरेको छ ।’

सिवाकोटीहरुले पहिलो चरणमा यो ड्रोन अलिक खर्चिलो हिसाबले बनाएका छन् । ‘यसलाई पूर्ण रुपमा मोबाइलबाट नै निर्देशन दिन सकिन्छ,’ सिवाकोटीले भने, ‘यो ड्रोनलाई अहिले सात लाख रुपैयाँ पर्छ । तर, जसै यसको डिमान्ड बढ्दै जान्छ, यसको उत्पादन मूल्य पनि सस्तो हुँदै जान्छ ।’

यो ड्रोन र यसको कामलाई अझ परिस्कृत गरेर अगाडि बढाउने उद्देश्यमा छ, सिवाकोटीको टिम । त्यसैले उनीहरु यसलाई अझ प्रिसाइज बनाउँदै छन् ।

प्रिसाइज अर्थात् जहाँ औषधिको आवश्यकता छ, त्यहाँमात्र औषधि छर्ने ड्रोनको व्यवस्था ।

‘एउटै बालीमा पनि सवैतिर एकैनासले औषधि छर्नु पर्छ भन्ने हुँदैन,’ सिवाकोटीले भने, ‘त्यसैले औषधि चाहिने ठाउँमा मात्र छर्ने ड्रोनको विकास गर्न मन छ ।’-फरकधार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार