राष्ट्रिय सभा सदस्यकाे उम्मेदवार बन्न १० हजार धरौटी

२०७६ पुष १९, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – आउँदो माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।

आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको बताउँदै उम्मेदवारले आ–आफ्नो प्रदेशका निर्वाचन अधिकृतको कार्यालय मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा उम्मेदवारी दर्ताको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएकोे मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैङ्क भौचर बुझाउनुपर्नेछ ।

तर महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ । साथै आर्थिक रूपमा विपन्न भएको भनी सम्बन्धित स्थानीय तहले सिफारिस गरेको सिफारिस पत्र संलग्न हुनुपर्नेछ । यो खबर आजको गाेरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार