sajalsandesh

राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने कांग्रेसको संकेत

वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालेसभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुन सक्ने बताए ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि निर्णयबारे जानकारी दिँदै प्रवक्ता शर्माले केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचन सम्बन्धि प्रस्ताव पारित भएपछि उक्त कुरा टुंगो लाग्ने जानकारी दिए ।

बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताए । उनले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताए ।

बैठकले पार्टीको प्रदेश नम्बर ५ संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको भूक्तानी गर्न निर्देशन दिएको छ ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भूक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिलले समेत उखु किसानको भूक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएको यथासिघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताए । कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक हुन् ।

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उनले दाबी गरे । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भएपनि राष्ट्रियसभा निर्वाचनमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गरे । सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरुको भने सहभागिता थिएन् ।

ismt college
dish home