sajalsandesh

मनाइयो टोपी दिवस

झापा – जनवरी १ मा विश्वभरि विभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइन्छ। नेपालमा भने केही वर्षयता खासगरी युवाहरूको सक्रियतामा यो दिनलाई ‘टोपी दिवस’ का रूपमा मनाउने गरिएको छ।

नेपालमा मात्रै नभइ विदेशमा समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै मनाउन थालेका छन्।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि ‘टोपी दिवस’ मनाउन थालेका हुन्।

एउटा अभियानका रूपमा ‘टोपी दिवस’ शुरू भए पनि सामाजिक सञ्जालबाट भएको प्रचारका कारण यसले बिस्तारै दिवसकै रूपमा निरन्तरता पाउन थालेको देखिन्छ।

टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ।

संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ ।

खासमा हामिले भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपी मान्ने गर्छौ । नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगाउने गर्छन् ।

गौरादहमा पनि मनाईयो

‘टोपी दिवस’ लाई निरन्तरता दिने क्रममा झापाको गौरादहमा पनि बुधवार सातौ राष्ट्रिय पोशाक दिवस २०७६ मनाइएको छ । गौरादह जेसिज, लायन्स क्लब, लियो क्लब र आरम्भ फाउन्डेसन गौरादहको संयोजनमा नेपाली टोपी दिवसको आयोजना गरिएको हो ।

डिपु चौकबाट शुरु भएको र्‍याली गौरादह बजारमा पुगी समापन भएको थियो । र्‍यालीमा महिला, पुरुष प्रायः सबैले शिरमा ढाका र भादगाउँले टोपी लगाएर राष्ट्रिय झण्डा बोकेका थिए ।

नेपालमा सामुदायीक पहिचानको कुरा जोडतोडका साथ उठ्ने गरे पनि राष्ट्रिय पहिचान नै संकटमा पर्न थालेकोमा सहभागीहरुले चिन्ता व्यक्त गरे । नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न उनीहरुको माग थियो ।

टोपी दिवसका अवसरमा सामाजिक सञ्जालमा आफ्नो तस्वीर शेयर गर्नेमध्ये प्रायः सबैले यसलाई नेपाली कला, संस्कृति र मौलिकता जोगाउने अभियानका रूपमा लिने गरेका छन्।

कतिपयले भने उक्त दिवसलाई पश्चिमा पर्वमा रमाउनुभन्दा सो अवसरलाई नेपाली शैलीमा रूपान्तरण गरेर मनाउने गरिएको पहलका रूपमा बुझेको पाइन्छ।

सामाजिक सञ्जाल फेसबूकमा सागर दंगालले आफू र आफ्ना केही साथीहरूको ढाका टोपीसहितको फोटो पोस्ट गर्दै लेखेका छन्, “हाम्रो पहिचान, हाम्रो गर्व।”

कतिपयले भने गोपाल योञ्जनका शब्द सापटी लिँदै लेखेका छन् ।

“मेरो टोपी कैलाशको शिर जस्तो

हिमाली भीर जस्तो

कहिल्यै पनि झुक्न नजान्ने

कहिल्यै पनि रुक्न नमान्ने

मेरो टोपी, नेपाली भीर जस्तो, नेपाली वीर जस्तो”

ismt college
dish home