जनवरी १ मा सातौं नेपाली टोपी दिवस मनाईदै

२०७६ पुष १४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमान्डौ – नेपाली टोपी दिवस (जनवरी १) को सन्दर्भ पारेर आयोजक संस्था जागरुक युवा अभियान नेपालले सोमबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

राजधानीको अनामनगरस्थित संवाद चौतारीमा आयोजित कार्यक्रममा इतिहासकार प्रा. डा. दिनेशराज पन्त र पत्रकार एवं अधिवक्ता स्वागत नेपालले बोलेका थिए । नेपाली टोपीको इतिहास र अहिलेको अवस्थाका बारेमा इतिहासकार पन्तले प्रष्ट्याएका थिए । उनले पछिल्लो पुस्ताले हराउँदै गएको राष्ट्रियता जोगाउने अभियान चलाएको प्रति खुशी व्यक्त गर्दै सबैले अभियानलाई साथ दिनु पर्ने बताए ।

अहिले तन्त्र फेरियो । यो सँगै संस्कृति पनि हराउने खालका निर्णय गरेर सरकारले हाम्रो संस्कृति माथि धावा बोलेकोमा उनको असन्तुष्टि थियो । नेपाली हुनुको शान जहाँ गएपनि नहराउने भएकाले सरकारले राष्ट्रिय सरोकारका विषयमा निर्णय गर्दा धेरै सोच विचार पुर्याउनु पर्नेमा उनको सुझाव थियो ।

यस्तै अधिवक्त स्वागत नेपालले बाँच्नु मात्रै ठूलो कुरा नभएर राष्ट्रियता जोगाउन सक्नु नै ठूलो कुरा भएको बताए । उनले नेपाली पहिरनको छुट्टै विशेषता र महत्व भएकाले यसको जर्गेनामा सरकार उदाशिन भएको प्रति आक्रोस व्यक्त गरे । विश्वमा सबै देशको आआफ्नो मौलिक पहिचान र पहिरन हुने भएकाले नेपाली पहिरन हटाएर सरकारलाई जंगली स्वभाव नदेखाउन पनि नेपालले चेतावनी दिए । उनले गुमेको पहिचान जोगाउने जागरुक युवा अभियान नेपालको प्रयासको खुलेर प्रशंसा पनि गरेका थिए ।

जागरुक युवा अभियान नेपालले विगत ६ वर्षदेखि नेपाली टोपी दिवस मनाउँदै आएको छ । यसवर्ष पनि उसले राजधानीको माइतीघर मण्डलामा जम्मा भएर आगामी बुधबार (पुस १६) जनवरी १ मा सातौं नेपाली टोपी दिवस मनाउँदैछ । आजको अन्तरक्रियामा संस्थाका तर्फबाट संयोजक घनश्याम श्रेष्ठ र सचिव ज्ञानमणि नेपाल कालोटोपीले सातौं नेपाली टोपी दिवसको तयारीका बारेमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार