किन हुदैछ सञ्चारमन्त्रिको आलोचना ?

२०७६ पुष १४, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं- सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा मालैमालाले पुरिएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको छ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले ट्विटरमा भनेका छन्, ‘कठैबरा, कस्तो रहर, यस्तो प्रवृत्तिबाट के सिक्ने र कस्तो आशा गर्ने?

पत्रकार गजेन्द्र बुढाथोकीले व्यंगपूर्ण रुपमा कविता नै बनाएर ट्विट गरेका छन्। उनले भनेका छन्, ‘धरोधर्म नेपाल बन्दैन यही चालाले, कुन दिन नेता पुरिएरै मर्छन् मालाले ।’

बुढाथोकीको ट्विटमा रिप्लाई गर्दै ‘रैकरे राजीव’ ह्यान्डलमा लेख्छन्- ‘संविधानसभा २ चुनावमा गोकुल बाँस्कोटाको क्षेत्रमा खटिएको थिएँ, १ महिना काभ्रेका धेरै गाउँ घुम्ने मौका जुरेको थियो। आफ्नो क्षेत्रमा लोकप्रियता अझै छ भन्ने संकेत होला। फूल, खादा अनावश्यक खर्चमा कटौती सबै क्षेत्रमा जरुरी छ।’

पत्रकार कनकमणि दीक्षितले ट्विट गर्दै ‘ठम्याउनै सकिएन, त्यो मालाको रासभित्र लुक्न पुगेको मनुवा हो चाइँ को?’ भनेका छन्। त्यसको जवाफमा नेकपा नेतासमेत रहेका पत्रकार विष्णु रिजालले ‘कोही होइन दाजु’ भनेका छन्। दीक्षितलाई नै रिप्लाई गर्दै अशोक दाहाल लेख्छन्, ‘यो मालाभित्र पात्रभन्दा पनि चरित्र खोजौं। हामीले कस्तो भोक र सोख भएका पात्र हुर्काएछौं भनेर समीक्षा गरौं।’
मन्त्री बाँस्कोटा शनिबार हेलिकोप्टर लिएर काभ्रेको रोशी गाउँपालिका-१ खहरेपागुको चेतना माविको भवन हस्तान्तरण गर्न पुगेका थिए। काठमाडौंबाट एक घन्टाको समय लिएर खहरेपागु पुगेका मन्त्रीलाई स्थानीयले फूल र मालाले भव्य स्वागत गरेका थिए। स्वागत पनि यति भव्य भयो कि मालाले उनको गलामात्र भरिएन आँखा पनि छोपिए।

मालाले भद्दा सम्मान गरेका तस्बिर सबैभन्दा पहिला मोतिराम तिमल्सिनाले फेसबुकमा पोस्ट गरेका थिए। तिमल्सिनाले मन्त्री जनताको स्वागतमा मालाले छोपिएको उल्लेख गर्दै तस्बिर पोस्ट गरेका छन्। मालाले आँखा छोपिएको तस्बिर शेयर गर्ने अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्री बाँस्कोटाको चर्चित शब्द ‘हेप्नि!’ क्याप्सन लेखेका छन्।

उनको यही तस्बिर नै शनिबारदेखि सामाजिक सञ्जालमा हाँसो र आलोचनाको विषय बनेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार