जग्गा लिज घोटालामा छानबिन हुन्छ:प्रधानमन्त्री

२०७६ पुष १२, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताएका छन्।

सत्तारूढ नेकपानिकट प्रेस संगठन नेपालका पदाधिकारीहरूको शपथग्रहण समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए। ‘कुन जमानामा सगरमाथा आरक्षको जग्गा लिजमा दिएको हो, कालीमाटीलाई लिजमा दिइयो, चुनाव हारिसकेपछि अल्पमतमा परेको सरकारका बेला बदमासी भएको छ,’ प्रधानमन्त्रीले थपे, ‘उहिलेको मितिमा दिएको कुरामा अहिलेको सरकारलाई जोडियो, तर अहिलेको सरकार कमिशनखोर होइन, जग्गा लिजमा दिइएको बारे छानविन हुन्छ।’ पहिले हचुवाका भरमा गोकर्ण रिसोर्टको जग्गा लिजमा लगाइएको ओलीले दाबी गरे।

‘अहिले स्वतन्त्र विज्ञको सुझावका आधारमा सो जग्गा लिजमा दिइएको हो, पहिले नै नदिए उसले चलाउन सक्दैन,’ओलीले भने,‘अवधि बाँकी रहँदै बन्द नहोस् भनेर लिजमा दिइएको हो, त्यसैले समय हुँदै लिज दिइएको हो।’ वर्तमान सरकारका पालामा असाधारण काम भएको र मन पोल्ने गरी काम भएको प्रधानमन्त्रीले दाबी गरे। आफूहरूले समुद्रमा जहाज चल्छ भन्दा पनि उडाइएको र विरोधीहरूलाई त अझै नदीमा स्टिमर चल्छ भन्नेसमेत थाहा नभएको ओलीले तर्क गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार