देउवाले भने – यो सरकार इतिहासकै सबैभन्दा असफल भयो

२०७६ आश्विन ११, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको ईतिहासमै सबैभन्दा असफल सावित भईसकेको दाबी गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दसैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

बडा दसैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा देउवाले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भईरहेको दाबी गरे । ‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ देउवाले भने, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन्, यति महंगी सरकारले बढाएको छ कि जनताले दसैंं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’

सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्रविरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको देउवाको आरोप थियो ।

सभापति देउवाले प्रजातन्त्रविरोधी सरकारका कुनै पनि गतिविधि सैह्य नहुने चेतावनी दिए । उनले पार्टी भित्रको अन्तरघातकै कारण निर्वाचनमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अन्तरघातमुक्त पार्टी निर्माणमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

सोही कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिस्ट नेतृत्वको सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेसलाई निर्वाचनमा कुनै पनि राजनीतिक दलले हराउन नसक्ने भए पनि अन्तरघातका कारण हार्नु परेको दाबी गर्दै सभापति देउवाले आगामी निर्वाचनमा विजयी हुने गरी पार्टीको कामलाई अघि बढाउन सिंगो पार्टी पंक्तिले प्रतिज्ञा गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार