sajalsandesh

प्रेसलाई संकुचन गर्ने पार्टीको उद्देश्य छैन : प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विचाराधिन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा निश्चिन्त हुन सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले संसदमा पेश गरिएका सबै विधेयकलाई संविधानको भावना र मर्म अनुसार अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक उभिएको बताए ।

‘प्रेसलाई संकुचन गर्ने, नियन्त्रण गर्ने कुनै पनि विधेयक आयो भने त्यो संविधानको मूल मर्म र भावनाविपरित हुन्छ,’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘संसदमा पेश गरिएका चालू विधेयकलाई परिमार्जन गर्ने, संशोधन गर्ने र त्यसलाई संविधानको भावना र मर्म अनुसार नै बनाउने कुरामा आफ्नो पार्टी दृढ रहेको विश्वास म सञ्चारकर्मी साथीहरुलाई दिलाउन चाहान्छु ।’

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले पूर्ण प्रेस स्वतन्त्रताको अर्थ अराजकता नभएको टिप्पणी गरे । पत्रकारिता क्षेत्रलाई राज्यले नियन्त्रण र नियमन गर्ने भन्दा पनि पत्रकार स्वयम्ले आफ्ना लागि कस्ता मूल्य र मान्यता आवश्यक पर्छ ? भनेर गम्भीर भएर सोच्नुपर्ने बेला आएको प्रचण्डको भनाइ थियो ।

ismt college
dish home