sajalsandesh

जिउँदै बलि बन्नबाट प्रहरीले यसरी जोगायो मोडेल सम्झनालाई

घण्टाको ३० हजार आश्वासनले झण्डै लग्यो ज्यान

काठमाडौ – पुस पहिलो साता काठमाडौंको तापक्रम निरन्तर घट्दो थियो । नाम सम्झना थापा (परिवर्तित नाम, ठेगाना) । उमेर २२ वर्ष । उचाइ ६ फिट । बानेश्वरको एक प्रतिष्ठित निजी कम्पनीमा काम गर्छिन् । कमाइ आफूलाई पुग्दो थियो ।

मिलेको अनुहार र जीउडालका कारण उनी कहिलेकाहीँ काठमाडौंमा हुने विभिन्न फेसन शो र मोडलिङमा समेत सहभागी हुँदै आएकी थिइन् । मोडलिङको उनलाई छुट्टै पारिश्रमिक आउँछ ।

अफिससँगै मोडलिङमा पनि रुचि भएकी उनलाई बेलाबेलामा मोडलिङको अफर आउनु नयाँ थिएन । त्यसैले मोडलिङको कुरा कतैबाट आयो भने उनी नाइँनास्ती गर्दिन थिइन् ।

२ पुसमा उनलाई अफर आयो मोडलिङको ।

मोडलिङको प्रस्ताव राख्ने धादिङकी प्रेमा तामाङ थिइन् । यसअघि प्रेमा र सम्झना थापाको चिनजान थिएन । विभिन्न माध्यम हुँदै प्रेमा मोडल खोज्दै सम्झना थापाको सम्पर्कमा पुगेकी हुन् ।

चिनजानको कुरालाई सम्झनाले खासै वास्ता गरिनन् । मोडलिङ नै गर्ने भएकाले उनले प्रेमाको कुरालाई सहजै स्वीकार गरिन् ।

सोधिन्- ‘फेसन शो कहाँ हुन्छ ?’

प्रेमाले जवाफ दिइन्, ‘पहिला कोटेश्वर, त्यसपछि विराटनगर ।’

‘पारिश्रमिक कति नि ?’

‘एक घण्टाको ३० हजार’, प्रेमाले उत्तर दिइन् ।

सम्झनाले भनिन्, ‘ओके ।’

प्रेमाले आयोजकलाई देखाउने भन्दै सम्झनाको भिडियो खिचिन् । भिडियो ओके भएको खबर प्रेमाले ३ पुसमा सम्झनालाई दिइन् । सम्झनालाई प्रेमाले महिनावारीका साथै शरीरमा घाउ लागेको/नलागेको विषयमा पनि चासो राखिन् ।

यो चासोले सम्झनालाई झस्कायो । प्रेमाको कुराले उनलाई शंका लाग्यो, त्यही भएर ४ पुसमा उनले प्रहरीलाई खबर गरिन् ।

सम्झनासँग सम्वाद चल्दाचल्दै प्रेमाले सम्झनाको भिडियो सप्तरी राजविराजका उमेश साहलाई पठाइसकेकी रहिछन् ।

प्रहरीको ‘कोर्भट’ अपरेसन

४ पुसमा प्रहरीको सम्पर्कमा पुगेकी सम्झनालाई काठमाडौं प्रहरीले मोडलिङ गराउने समूहले जे भन्यो, त्यही मान्न सुझाए ।

त्यसपछि सम्झनासँगै सादा पोसाकका प्रहरी परिचालित भए । सम्झनाले फेसन शोका आयोजकसँग कुराकानी गर्दा प्रहरी अभिभावकका रूपमा समेत उपस्थित भयो ।

मोडल खोज्ने जिम्मा भारतीय मूलका दुई जनाले प्रेमालाई दिएका रहेछन् । मोडल भेटेपछि उमेश साहलाई भिडियो पठाउन भन्दै ती भारतीय नागरिकले प्रेमालाई उमेशको फोन नम्बर दिएका थिए ।

त्यसवापत उनलाई छुट्टै कमिसन दिने आश्वासन ती दुई जना भारतीय नागरिकको थियो । त्यहीअनुसार प्रेमाले मोडेलका रूपमा सम्झनासँग कुरा अघि बढाइन् ।

४ पुसमै प्रहरीको सम्पर्कमा पुगेकी सम्झनालाई अब कुनै डर थिएन । उनीहरूले जेजे भनेे, हुन्छ भन्दै गइन् । ६ पुसमा प्रेमाले कोटेश्वरमा हुने भनेको शो रद्द भएको र सुरुमा विराटनगरमा हुने सम्झनालाई खबर गरिन् ।

विराटनगरबाट उमेश साहले हवाई टिकट र २६ हजार रुपैयाँसमेत प्रेमालाई पठाइसकेका थिए । तर, ६ पुसमा प्राविधिक कारण देखाएर हवाई टिकट रद्द भएको जानकारी सम्झनालाई गराइयो ।

७ पुुसमा पुनः सम्झना र दाङ घोराहीकी दिलकुमारी बुढा बुद्ध एयरबाट विराटनगर पुगे । प्रेमा तामाङले सम्झनालाई विराटनगर पुर्‍याउने जिम्मा बुढालाई दिएर पठाएकी रहिछन् ।

उनीहरूसँग प्रहरीको टोलीसमेत थियो । तर, दिलकुमारी बुढालाई यसबारे जानकारी थिएन ।

सम्झना विरानगर विमानस्थलमा पुग्दा उनलाई लिन नवलपरासीका कृष्ण तामाङ र उमेश साह पुगेका थिए ।

सम्झना र दिलकुमारी बुढालाई लिएर उनीहरू पहिला रामजानकी मन्दिरको एक खाजा घरमा पुगे । उनीहरूसँगै प्रहरीको कोर्भट टोली थियो । तर, उनीहरूले त्यसको भेउसम्म पाएका थिएनन् ।

जानकी मन्दिरबाट उनीहरूलाई विराटनगरको जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र २०६ मा लगेर राखियो ।

त्यहाँ सम्झनाको उचाइ, महिनावारी भए/नभएको शरीरमा घाउ लागे/नलागेको बारे पुनः सोधपुछ गरियो ।

सबै ठीक भएपछि उमेश साह र कृष्ण तामाङले तान्त्रिक पूजाका लागि र मोडलिङको सामान किन्न भन्दै भारतको जोगबनी जान प्रस्ताव गरे ।

त्यसपछि भने प्रहरीले हस्तक्षेप गर्‍यो । प्रहरीले उमेश साह, कृष्ण तामाङ, उमेश माझी, रंजितकुमार चौधरी, दिलीप पोद्दारलाई जोगवनी जाने तयारी गर्दागर्दै पक्राउ गर्‍यो ।

प्रेमालाई भने काठमाडौंको सीतापाइलाबाट पक्राउ गरियो ।

उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार (आज) पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उमेश माझी सप्तरीका हुन् । दिलीप पोद्दार विराटनगर, रंंजितकुमार चौधरी सुनसरीका बासिन्दा रहेको परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले जानकारी दिए ।

उनीहरूको साथबाट प्रहरीले १ लाख ९ हजार ५ सय रूपैयाँ, मोबाइल, विभिन्न बैंकका ९ लाख १ हजार रुपैयाँको चेक, चाँदीको जन्तर २ थान र कृष्ण तामाङका नाममा रहेका ७ थान एटिएमसँगै तान्त्रिक पूजाका सामग्रीसमेत प्रहरीले बरामद गरेको छ ।

मन्दिरमा बलि दिन खोजेको प्रहरी आशंका

प्रहरीका अनुुसार सम्झनालाई उनीहरूले भारतको कुनै मन्दिरमा बलि दिन भारत लैजान खोजेको आशंका गरेको छ ।

उनीहरू मतियार बनेर भारतको कुनै मन्दिरमा सम्झनालाई पुर्‍याउने र त्यसवापत मोटो रकम लिन खोजेको प्रहरीको भनाइ छ ।

मन्दिरमा लैजानु, तान्त्रिकहरूलाई भेटाउनु, शारीरिक अवस्थाबारे बारम्बबार परीक्षण गरिनुले आशंका उब्जाएको एसपी सिंहको भनाइ छ । उनीहरूमाथि थप अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भारतबाट पूजाका लागि नेपाली युवती खोज्न पठाउने भारतीय नागरिक सञ्जय महतो भने फरार छन् ।

पक्राउ परेकामध्ये माझी अपहरण तथा शरीर बन्धक र हातहतियार मु्द्ददामा जिल्ला अदालत सप्तरीबाट धरौटीमा रिहा भएका अभियुक्त हुन् ।

प्रहरीका अनुसार यसअघि पनि झापामा बलिकै लागि एक युवतीलाई भारत लैजाँदै गर्दा उद्धार गरिएको थियो । सो घटनाकी अभियुक्त उमादेवी भण्डारी हाल जेलमा छन् ।

ismt college
dish home