अब चालक र कार्यालय सहयोगी पनि स्थायी हुनुपर्ने

२०७६ पुष ९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सरकारी कार्यालयमा अब चालक र कार्यालय सहयोगी पनि अस्थायी पदपूर्ति गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चालक र कार्यालय सहयोगी पनि स्थायी रुपमै पूर्ति गर्न निर्देशन दिएको छ ।

समितिको बुधबारको बैठकले चालक र कार्यालय सहयोगी पदमा करार वा अस्थायी नभइ स्थायी पदपूर्ति नै गर्नुपर्ने निर्देशन दिएको हो । आवश्यक कर्मचारीको नयाँ सङ्गठन र व्यवस्थापन गरी ती पदलाई थप जिम्मेवार बनाउन स्थायी पदपूर्ति गर्दा नै उपयुक्त हुने बैठकको निष्कर्ष छ । ती पदलाई यसअघि कानूनमा उल्लेखित श्रेणीविहीन शब्दलाई हटाई राजपत्र अनङ्कित पाचौँ श्रेणीको दर्जा उल्लेख गर्न बैठकमा सहमति भएको छ ।

यसैगरी राजपत्र अनङ्कित पाचौँ श्रेणीको पदपूर्ति सत प्रतिशत खुलाबाट पदपूर्ति हुनेछ । सांसदहरुले राजपत्र अनङ्कित द्वितीय श्रेणी , खरिदार पदमा २० प्रतिशत आन्तरिक प्रतियोगिताका लागि मौका दिनुपर्नेमा जोड दिनुभएको थियो । राजपत्र अनङ्कित तृतीय (मुखिया) र चतुर्थ बैदार श्रेणीका पद भने नयाँ कानूनमा खारेज हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार