लाउने पोशाक छैन, टाई अनिवार्य

२०७६ पुष ८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

रोल्पा – गत वर्ष बुवा खड्कलाल वलीको मृत्यु भएपछि सकसमा रहेका उनका ९ छोरी मध्ये ३ बहिनी एउटै विद्यालयमा पढ्छन्। आर्थिक अवस्था निकै कमजोर भएका उनीहरुसँग पुसको चिसोमा जाडो छल्ने न्यानो कपडा छैन।

रोल्पा नगरपालिका २ देउरालीमा रहेको सरस्वती प्राथमिक विद्यालयमा केजीमा पढ्ने सबिना, दुई कक्षामा पढ्ने मनकुमारी र कक्षा चारमा पढ्ने हिमकुमारीसँग पातलो सर्टमाथि टाई भिरेर स्कूल आउनुको बिकल्प छैन। उनीमाथिका दिदीहरुले आर्थिक अभावका कारण विद्यालय छोडिसकेका छन्।

सबिना, मनकुमारी र हिमकुमारी जस्ता करिब तिन दर्जन विद्यार्थी आर्थिक अभावका कारण पातलो सर्टमाथि टाई झुण्डाएर विद्यालय आउने गर्छन्। ‘कक्षा कोठामा जाडोले बस्नै नसकिने हुन्छ।’ हिमकुमारी भन्छिन् ‘स्वीटर किन्नलाई पैसा नभएपछि यस्तै चलिरहेको छ।’ घाटीमा टाई भने झुण्डाएका उनीहरु चिसो सिरेटोमा थरथर काप्दै विद्यालयमा बस्न बाध्य छन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगबहादुर वलीका अनुसार आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण चिसो समयमा बालबालिकालाई गाह्रो हुने गर्दछ। ‘टाई चाहि अनिवार्य भएका कारण लगाउछन् तर स्वीटर किन्ने पैसो नभएपछि समस्या पर्ने गरेको हो।’ अध्यक्ष वलीले भने ‘चिसोका कारण विद्यार्थी बिरामी नै पर्छन् कि भन्ने चिन्ता पनि उत्तिकै छ।’

विद्यार्थीको दयनिय अवस्था दैनिक देख्ने शिक्षकहरु पनि दिक्क छन्। ‘घाम लाग्दा त बाहिर बसालेर पढाउछौ। ठूला विद्यार्थी भन्दा शिसु र सानो कक्षाका बच्चाको हत्ते हुन्छ।’ शिक्षक देबबहादुर वली भन्छन् ‘अभिभावकले न्यानो कपडा किनिदिन सक्दैनन्। अरु बेला भन्दा पानी पर्दा त झन बिजोग नै हुन्छ।’ शिक्षकका अनुसार अति चिसो भयो वा पानी पर्‍यो भने कतिपय विद्यार्थी स्कूल नै आउदैनन्।

सदरमुकाम नजिकैको विद्यालयभित्र विद्यार्थीको नाजुक अवस्थाका बारेमा खबर पाएपछि स्थानीय युवाहरुको समूहले अति बिपन्न विद्यार्थीलाई स्वीटर किनिदिएका छन्। सतप्रयास मिडिया गु्रपको कोशिस अभियानमा लागेका उनीहरुले तिन दर्जन बिपन्न विद्यार्थीलाई गत मंगलबार विद्यालयमै पुगेर स्वीटर दिएका हुन्।

जम्मा एक सय चार जना विद्यार्थी रहेको यहाँ स्वीटर पाएपछि दंग विद्यार्थीहरु अब अलि सजिलो हुने बताउँछन्। ‘दिनभरि स्कूलमा जाडोले सताउथ्यो अब अलि सजिलो होला। कहिले काहि त हात कठ्याङग्रीएर लेख्नै नसकिने हुन्छ।’ विद्यार्थी दिनेश बिकले भने ‘यो जाडो महिना भन्दा त गर्मी महिना नै जाति हुन्छ। लुगा धेरै नभए पनि चल्छ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार