‘नक्कली फार्ममार्फत आर्थिक अपराध बढ्न थाल्यो’

२०७६ पुष ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ- नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम बढेको पाइएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले नक्कली फर्म दर्ता गर्ने र नक्कली कारोवार देखाउनेक्रम बढेको छ भन्दै नियामक निकायले भूमिका बढाउनुपर्ने औँल्याउनुभयो ।

नेपाल चार्टर्ड एकाउन्टेन्सद्वारा आज यहाँ आयोजित ‘भ्रष्टाचार र ठगीविरुद्ध व्यावसायिक इमान्दारी’ विषयको अन्तक्र्रियाकमा अर्थमन्त्री डा खतिवडाले त्यस्ता नक्कली गतिविधिलाई लेखापरीक्षकले सही प्रमाणित गरेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

“कतिको नागरिकता नक्कली छ, अञ्जान मान्छेको नागरिकता लिएर फर्म दर्ता गरिएको छ, तर अडिटरले कागजात र लेखा ठीक छ भनी सही गरेर हिँड्छन्, यो कसको दोष हो ?”, डा खतिवडाले भन्नुभयो । उहाँले नक्कली कम्पनी बनाएर प्रविधिको दुरुपयोग गरी नक्कली गतिविधि बढ्दै गएको तर्फ सचेत हुन आग्रह गर्दै व्यक्तिले व्यावसायिक आचरणलाई मात्रै नहेरी सामाजिक आचरणलाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

व्यावसायिक कारोवारलाई विद्युतीय प्रणालीबाट सञ्चालन गर्दा बढी व्यवस्थित र पारदर्शी हुने भएकाले सरकराले विद्युतीय प्रणालीलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो । सरकार आर्थिक ऐनमा कर प्रशासकको स्वच्छता र स्वेच्छिक निर्णय गर्न सक्ने अधिकार थप्नेक्रममा लागेको छ भन्दै मन्त्री डा खतिवडाले खर्च गर्ने अधिकारीको जवाफदेहितालाई वित्तीय उत्तरादायित्व ऐनले स्पष्ट उल्लेख गरेको र केही वित्तीय क्षेत्रको नियामक कानून बनाउने चरणमा रहेको जानकारी दिनुभयो ।

उहाँले आर्थिक पारदर्शिता र सुशासन कायम गर्न नेपाल राष्ट्र बैंक ऐन, बैंक तथा वित्तीय संस्था ऐन, बीमा, धितोपत्र र कम्पनीलगायत ऐन संशोधन प्रक्रिया अघि बढेको र हिउँदे अधिवेशनमा धेरै स्वीकृत भएर आउने विश्वास व्यक्त गर्नुभयो । “नियामक निकायले राम्रोसँग हेरे मातहतका निकायमा हुने भ्रष्टाचार र जालसाँजी रोक्न सकिन्छ, यसतर्फ चनाखो हुनुपर्छ”, डा खतिवडाको थप्नुभयो ।

अन्तक्र्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि महत्वपूर्ण कुरा आफ्नो आचारण भएको उल्लेख गर्दै पहिले आफूबाटै सुधार हुनुपर्नेमा जोड दिनुभाये । उहाँले आयोगमा एक हजार ६०० भन्दा बढी मुद्दा अनुसन्धानको चरणमा रहेको जानकारी दिँदै चालू आवमा अहिलेसम्मकै सबैभन्दा बढी मुद्दा दर्ता हुने देखिएको बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका लागि आयोगले अनुसन्धान चुस्त बनाउन इञ्जिनीयर ल्याब स्थापना गरेर अघि बढेको घिमिरेले बताउनुभयो ।

दुई वर्षको सर्भेअनुसार सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्धको रहेकाले त्यसैको आधारमा हालै मात्र आयोगले तीनै तहका सरकारलाई ६१ बुँदे सुझाव दिएको बताउनुभयो । मुलुकको लेखा परीक्षण प्रभावकारी हुन सकेका अवस्थामा सुशासनको बाटो निकै अगाडि बढ्ने उहाँको विश्वास छ । उहाँले आयोग ऐन र भ्रष्टाचार नियन्त्रण ऐन संशोधनका क्रममा रहेको समेत बताउनुभयो ।

महालेखा परीक्षक टङ्कमणि शर्माले पवित्र उद्देश्य लिएर स्थापना भएको सङ्घसंस्थामा भ्रष्टाचार देखिन थालेको जिकिर गर्नुभयो । निजी क्षेत्रमा नक्कली कम्पनी खडा गरेर आर्थिक अपराध हुने र सरकारी तहमा भ्रष्टाचार रहेको बताउँदै शर्माले चोखो भनिएको कृषि क्षेत्रमा समेत अनुदानको रकम दुरुपयोग हुनु विडम्बना हो भन्नुभयो ।

उहाँले राज्य संयन्त्रलाई सक्रिय बनाएर भ्रष्टाचारको वातावरण तयार पार्ने क्षेत्रको पहिचान गरी व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रम उद्घाटनपछिको दोस्रो सत्रमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषयका विभिन्न कार्यपत्रमाथि छलफल चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार