बैठक छाडेर नेकपा नेताहरु राष्ट्रपतिकहाँ पुगे, प्रचण्डले पाे खोज्दा खैलाबैला !

२०७६ पुष ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए। धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि/पद्धति यही हो ?’ खैलाबैला मच्चियो। अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ।’

सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुपर्यो। ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ।’

त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे। ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनुभएको थियो। यो पूर्वनिर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो। पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु।’

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ। यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन्। तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार