शुक्रबार पनि कैयाैँ प्रदर्शनकारी मारिए, उत्तरप्रदेशका सबै शिक्षण संस्था आज बन्द

२०७६ पुष ५, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

एजेन्सी – नागरिकता संशोधन कानुनको विरोधमा भारतभरि आन्दोलन चर्किएकाे छ । साे क्रममा भएका विभिन्न प्रदर्शनमा शुक्रबार उत्तर प्रदेशमा केही प्रदर्शनकारी मारिएकाे जनाइएकाे छ । तर मारिनेकाे संख्या भने विभिन्न माध्यमबाट फरकफरक देखाइएकाे छ ।

भारतको उत्तर प्रदेश राज्यका विभिन्न जिल्लामा शुक्रबार भएको प्रदर्शनका क्रममा ती प्रदर्शनकारीहरुको मृत्यु भएको हो । उत्तर प्रदेशकाे राजधानी लखनउमा प्रदर्शन नभएको भए पनि पनि उत्तर प्रदेशका अन्य सबै जिल्लामा हिंसात्मक प्रदर्शन भएको प्रहरीले जनाएको छ ।

स्वास्थ्यकर्मीहरुले मारिनेको संख्या १० भएको बताए पनि उत्तर प्रदेश प्रहरीले भने ६ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय पत्रिका अमर उजालाले भने १३ जनाकाे मृत्यु भइसकेकाे जनाएकाे छ ।

खनऊमा पुलिस, पीएसी र आरएएफका कर्मचारीहरूले मस्जिदहरू र विशेष गरी बिहीबार हिंसा भएको स्थानहरूमा गस्ती जारी राखेका थिए । साे प्रदर्शनका क्रममा बिहीबार पनि केही प्रदर्शनकारी मारिएका थिए । हिंसाको बारेमा खास आधिकारिक जानकारी प्राप्त भएको छैन, तर राज्यभरि ठूलो संख्यामा पक्राउ गरिएको छ बिबिसी हिन्दीले जनाएकाे छ ।

शुक्रबार हजारौं प्रदर्शनकारीहरू दिल्लीकाे सडकमा उत्रिएका थिए । उनीहरूले दिल्लीको जामा मस्जिदमा प्रार्थना गरेपछि जंतरमंतरतिर अघि बढे, तर उनीहरूलाई दिल्ली गेटमा प्रहरीले राेकेकाे थियाे । भारतकाे राजधानी दिल्लीका केही क्षेत्रमा शुक्रबार निषेधाज्ञा पनि लागू गरिएको थियो । प्रदर्शनकारीले ताे अवज्ञा गर्दा दर्जनाैँलाइ प्रहरीले हिरासतमा लिएकाे छ ।

मेरठमा भएको हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्न पुलिसले गोली हानेको थियो । प्रहरीले दिएको जानकारीअनुसार कानपुर, संभव, मेरुत, फिरोजाबाद लगायत क्षेत्रमा प्रदर्शनकारी मारिएका हुन् ।

उत्तर प्रदेश राज्यको राजधानी लखनउमा बिहीबार भएको हिंसापछि प्रहरीले शुक्रबार सुरक्षा व्यवस्थामा निकै सतर्कता अपनाएको थियो । प्रदेश प्रहरीले हिंसा हुनसक्ने ठानिएको क्षेत्रमा दिनभर गस्ती गरेको थियो ।

उत्तर प्रदेशमा हिंसात्मक प्रदर्शन चर्किएसँगै भाेलि (डिसेम्बर २२) हुने शिक्षक योग्यता परीक्षा पनि रद्द गरिएकाे छ भने अाज त्यहाँका सबै शैक्षिक संस्थानहरू बन्द गरिएकाे त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार प्रदर्शनका क्रममा समाचार संकलन गर्न पुगेका केही पत्रकारलाइ समेत यूपी प्रहरीले बन्धक बनाएकाे बताइएकाे छ । प्रदर्शन दबाउन त्यहाँकाे भारतका कैयाैँ स्थानमा फोन नेटवर्क, केबल सेवा र इन्टरनेट समेत बन्द गरिएकाे छ ।

शुक्रबार भएकाे प्रदर्शनमा प्रदर्शनकारी समेत आक्रामक रूपमा प्रस्तुत भएका थिए । उनीहरूले आगजनी गर्नुका साथै, ढुंगा-इँटा र प्रेटाेलबम प्रहरीमाथि फालेकाे बताइएकाे छ । ती प्रदर्शनमा दर्जनाैँ व्यक्ति घाइते भएकाे जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार