sajalsandesh

दमकको आकाशे पुलमा ‘सेल्फी’ खिच्नेदेखि अनैतिक ‘डिल’ सम्म !

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको २ करोडको पुल बन्यो 'सेल्फी पुल', सडकबाटै बाटो काट्छन् यात्रु

तेजन खड्का/ दमक – झापाको दमकमा रहेको आकासे पुल प्रभावकारी नभएको देखिएको छ । सवारीको चाप राजधानीको जस्तै खासै नभएको कारण पुल चढ्नु भन्दा पुल मुनीबाटै नै मानिसहरु बाटो काटेर हिड्छन् । मंगलवार विहान दमक पुलमा पुग्दा त्यस्तै देखियो, कोहि पुलमाथि बसेर घाम ताप्दै गफ लडाई रहेका थिए भने कोहि सेल्फी लिदैं ।

खासगरी पुलबाट नहिड्नुको कारण रहेछ, पुलमाथि पुग्दा बाटो नै पार गरिसकिने रैछ, सवारी नि चाप छैन,जाम छैन,को चढ्ने पुल ? झापाका सन्तोष बिष्ट भन्छन्, यो दमकको पुललाई सबैले सेल्फी पुल भन्छन् । यो पुलको प्रभावकारितामा अहिले प्रश्न उठ्न थालेको छ । आकाशे पुल प्रयोग नगरी बाटो काटिरहेका एकजना बृद्धलाई आफु दमको रोगी भएको र यो पुलबाट आफुले बाटो काट्न नसक्ने जवाफ दिए ।

पुलमा रहेका विद्यार्थीहरुलाई पुल किन चढेको भन्दा फोटो खिच्न भन्ने जवाफ दिए । यतिबेला फोटो खिच्न आउनेहरुको भीड नै लाग्ने गरेको छ । यति मात्र काहाँ हो र, जव साँझ पर्छ त्यहाँ यौनजन्य गतिविधीको लागि ‘डिलीङ’ हुने गरेको छ । यौनजन्य कार्यमा संलग्न हुनेहरुको भीड नै लाग्छ ।

यसो खाना खाएर हावा खान पुलमा निस्किएको मात्र थियौं, एक महिलाले दाई जाने १ हजारले पुग्छ भन्दै आईन्, त्यो सुन्न साथ डरले हामी भाग्यौ, दमकका लक्ष्मी अधिकारीले भने, आकाशे पुल त रेड एरिया जस्तै भईसकेछ । त्यहाँ पुरै बार्गेनिङ हुँदो रहेछ ।

सडक क्रस गर्न सजिलो हुने भन्दै निर्माण गरिएको उक्त पुल युगल जोडीहरुको फोटो खिच्ने गतिलो स्थान बनेको छ । २ करोड लगानी गरेर जुन प्रयोजनका लागि पुल बनाइएको त्यो प्रयोजनमा प्रयोग नभएपछि प्रेमी प्रेमीकाको फोटो खिच्ने स्थान मात्र बनेको हो ।

स्थानीयहरु माधव ढकाल भन्छन्–‘बाटो क्रस गर्न त्यत्रो पुलमाथि चढेर ओर्लने झन्झट कसैले गर्दैन त्यसैले तलको जेब्रा क्रसिङबाटै सजिलो छ यो पुलको त्यत्रो खाँचो थिएन’

काठमाडौँ बाहिर पहिलो पटक दमकमा आकासे पुल निर्माण भएपछि यात्रुहरुलाई सहज हुने सोच थियो, तर जुन प्रयोजनका लागि बनाइएएको हो , त्यो भएन, करौडौंको लगानी बालुवा पानी भएजस्तै भएको छ, झापा गौरादहका केदार खड्का भन्छन्, बरु त्यो पैसाले ग्रामिण सडकहरु स्तर उन्नती गर्न सकिन्थियो । दमकका गाउँगाउँ सबैतिर विकास काहाँ पुगेको छ र ? बर्खामा धुलाम्मे र बर्षामा हिलाम्मे हुने सडक पिच बनाइनु पर्थियो ।

पुल कारण ट्राफिक व्यवस्थापनमा केही सहज भएको ईलाका ट्राफिक प्रहरी कार्यालयका दमकका प्रमुख यज्ञ शमाले जानकारी दिए । उनका अनुसार पुलको सदुपयोग हुन सकेको छैन । यात्रीहरुले आकाशे पुलको सही सदुपयोग गर्नुपर्छ, अहिले त सेल्फि खिच्ने, डेटिङ बस्ने पुलको रुपमा मात्र यसको प्रयोग हुदै आएको छ ।

२५ मिटर लम्बाई , २ दशमलव ५ मिटर चौडाई र ६ दशमलव ३० मिटर उचाई रहेको आकाशे पुलको २०७२ पुस १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको ७३ लाख २ हजार ५ सय ६३ र दमक नगरपालिकाको आन्तरिक स्रोतबाट ४० लाख ४८ हजार ८ सय ६३ रुपैया गरि कूल एक करोड १४ लाख ४१ हजार रुपैयाँमा निर्माण गरिएको यो आकाशे पुल के अब सेल्फी खिच्नैका लागि मात्रै हो त भन्ने प्रश्न उठ्न थालेको छ ।

ismt college
dish home