sajalsandesh

सभामुख नबन्दै सुवास नेम्वाङलाई बधाईको ओइरो, दुर्गा उपसभामुख बन्ने

काठमाडौं – यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ । सभामुखमा पूर्वएमाले र माओवादी समूहका नेताको आ–आफ्नै दाबी छ ।कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखको निर्वाचन हुन लागेको हो ।

प्रधानमन्त्री केपी ओलीसहित पूर्वएमालेले सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन खोजेको छ । यस विषयमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिसमेत भइसकेको छ । सो सहमति भइसकेको सूचना चुहिएपछि पूर्वमाओवादी पक्षीय नेताहरूले प्रचण्डलाई दबाब दिएपछि अवस्था पेचिलो बनेको हो । प्रचण्डले कार्यकारी अध्यक्षमा सभामुख पद साटेको नेकपाभित्र चर्चा छ ।

तर, यही अवस्थामा नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले बधाई थाप्न थालिसकेका छन् । नेम्वाङले यसलाई सहज ढंगले स्वीकार गरेका छन् । बुधबार प्रकाशित हुने जनआस्था साप्ताहिकले पनि नेम्वाङले बधाई पाउन थालिसकेको लेखेको छ । ‘बधाई आजै दिऊँ कि पछि ?’ आइतबार सानेपा हाइटस्थित होटल समिटको एक जमघटमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता रमेश लेखेकले यसो भन्दै जिस्काइरहँदा ‘बधाई’ पाउने पर्ने पात्र (नेम्वाङ) चाहिँ मुसुमुसु हाँस्दै थिए,’ उसले लेखेको छ ।

पुस ४ गते (शुक्रबार) संघीय संसद्को बैठक आह्वान भइसकेको छ । सो दिन बस्ने प्रतिनिधिसभा बैठकले नयाँ सभामुखको निर्वाचन कार्यतालिका बनाउने छ । उपसभामुख शिवमाया तुम्वाहाम्फेले पदबाट राजीनामा दिएपछि मात्र नयाँ सभामुख निर्वाचनको प्रक्रिया अघि बढ्ने भएकाले उनलाई पदबाट राजीनामा दिने तयारी भइरहेको छ ।

नेम्वाङ र तम्वाहाम्फे दुवै नेकपाका सांसद हुन् । सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने संवैधानिक प्रावधान छ । सोही कारण तुम्वाहाम्फेले पदबाट राजीनामा दिएमा मसालका महासचिव मोहनविक्रम सिंहीकी श्रीमती दुर्गा पौडेललाई उपसभामुख बनाउने सहमति जुटेको छ । पौडेल प्युठानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

ismt college
dish home