दुई दिनमा दुई प्रतिभावान् गुमायौँ : प्रधानमन्त्री

२०७६ मंसिर ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मुलुकले प्रतिभावान् दुई कलाकार गुमाएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भनेका छन् , “गएको दुई दिनमा हामीले दुई प्रतिभावान् गुमायौँ । उहाँहरुको कला सधैँ हाम्रो स्मृतिमा रहनेछ ।” प्रधानमन्त्री ओलीले दिवङ्गत परिवारलाई हार्दिक समवेदना व्यक्त गरेका छन् । अध्यक्ष भट्टराईको गएराति र कलाकार क्षेत्रीको दुई दिनअघि निधन भएको थियो ।

साथै भट्टराईको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने भएको छ। चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै उनको राष्ट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिन लागिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको छ भने २ बजेपछि पशुपतिमा दाहसंस्कार गरिने भएको छ।

भट्टराईको ५४ वर्षको उमेरमा निधन भएको हो । आइतबार राति सवा १० बजेतिर उनको हृदयाघातका कारण निधन भएको बताइएको छ । वैवाहिक कार्यक्रमबाट निवास फर्कंदै गर्दा बाटोमा बेहोस भएका उनलाई उपचारार्थ ओम अस्पताल लगिएकामा राति निधन भएको हो ।

उनी चलचित्रका निर्देशक साथै जनपक्षीय चलचित्रकर्मी मञ्चका पूर्वअध्यक्षसमेत थिए । उनका श्रीमती र एक छोरा रहेका छन् ।

कलाकार दीपक क्षेत्रीको शनिबार निधन भएको थियो । कालिकास्थानस्थित घरमा सुतिरहेको अवस्थामा क्षेत्री मृत अवस्थामा फेला परेका थिए । श्वासप्रश्वासको समस्यामा रहेका क्षेत्रीको श्वरनलीमा मासु पलाएका कारण शल्यक्रियासमेत गरिएको थियो ।

लामो समयदेखि नेपाली चलचित्रमा सक्रीय रहेका ५८ वर्षीय क्षेत्रीले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन्। उनी नेपाली चलचित्रमा खलनायकका रुपमा अभिनय गरे।उनले ‘जीवनदान’, ‘सीमाना’, ‘सेतो सूर्य’, ‘राज्जा रानी’, ‘मसान’, ‘झोला’ लगायतका सयौं फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार