हरेक तीन किलोमिटरमा बिओपी निर्माण गर्छौं : मन्त्री कार्की

२०७६ मंसिर ३०, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भद्रपुर – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतसँगको सीमा क्षेत्रको तीन किलोमिटर अन्तरमा सशस्त्र प्रहरी वलको बोर्डर आउट पोस्ट (बिओपी) निर्माण गर्ने सरकारको तयारी रहेको बताउनुभएको छ ।

आइतबार झापाको बाह्रदशी गाउँपालिका–१ स्थित भागुडुब्बामा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट कार्यालयको उद्घाटन गर्दै मन्त्री कार्कीले अन्तरराष्ट्रिय सीमाको सुरक्षाका लागि बाक्लै सङ्ख्यामा बिओपी स्थापना गरिने बताउनुभयो ।

हाल सीमा क्षेत्रको हरेक छ किलोमिटरको दूरीमा एउटा बिओपी रहेको छ । उहाँले अन्तरराष्ट्रिय सीमासुरक्षाको जिम्मा सङ्घीय सरकारको भए पनि प्रदेशले शान्ति सुरक्षालाई सुव्यवस्थित बनाउनका लागि धमाधम भारतीय सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट निर्माण गरिरहेको बताउनुभयो ।

स्थानीय सरकारसँग समन्वय गरेर बिओपी निर्माण गरिएको स्थानसम्म पुग्ने सडकलाई कालोपत्र गरिने जानकारी दिनुभएको छ । भागुडुब्बा बिओपी भवन निर्माणका लागि स्थानीय सुशीला राजवंशीले पाँच कठ्ठा जग्गा दान दिनुभएको थियो ।

त्यसमा कार्यालयले तीन कठ्ठा खरीद गरी जम्मा आठ कठ्ठा जमीनमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा रु एक करोड ६१ लाख ७९ हजार ९२९ को लागतमा बिओपीका भौतिक संरचना निर्माण भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले बताउनुभयो ।

उहाँका अनुसार निवास, कार्यालय भवन, जुनियर अधिकृत व्यारेक भवन, जवान व्यारेक, मेस भवन, प्रवेशद्वार र शौचालय निर्माण गरिएको छ । सो पोष्टसँगै झापाका भारतीय क्षेत्रसँग सीमा जोडिएका स्थानमा आठ वटा बिओपी स्थापना भइसकेको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशी, संविधानसभा सदस्य हरिबहादुर राजवंशी, बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गबहादुर राजवंशीलगायतले बिओपीको स्थापनापछि सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणसँगै शान्तिसुरक्षा कायम हुने भन्दै खुशी व्यक्त गर्नुभयो । न्युज२४ नेपालका साथमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार