ओलीले जिल्याएपछि देउवाको साथको खोजीमा प्रचण्ड

२०७६ मंसिर २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबाट कार्यकारी अधिकार पाएपछि हौसिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय झनै सशंकित बन्न पुगेका छन् ।

केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विहानै भेट्न पुगेका दाहालले ओलीको नियतमाथि शंका गर्दै आगामी दिनमा कांग्रेससँगको यात्रा सहज बनाउन आफूले चाहेको बताएको समाचार स्रोतले जानकारी दिएको छ ।

ओलीले आफूलाई पार्टी संचालनका लागि कार्यकारी अधिकार दिएको भनी प्रचार गरे पनि व्यवहारमा भने त्यस्तो नभएको भन्दै दाहालले ओलीको नियतमाथि शंका गरेका पनि समाचार स्रोतले जानकारी दिएको छ ।

ओलीले आफूलाई सर्तसहितको केही अधिकार दिएको भन्दै दाहालले आफ्नो कुण्ठा व्यक्त गर्दै कांग्रेससँग सम्बन्ध बिगारेर आफूले ठूलो भूल गरेको बताएको पनि स्रोतले जानकारी दिएको छ ।

उनले ओलीको हालको स्थानमा आफू प्रधानमन्त्री बन्ने अवस्था निर्वाचनको परिणामले देखाएको, त्यो बेला पनि कांग्रेसका केही नेताहरुले प्रधानमन्त्री बन्न वातावरण बनाइदिने भनेको अवस्थामा तत्कालीन नेकपा (एमाले) सँग एकता गरी ओलीलाई प्रधानमन्त्री बनाउन आफूले त्याग गरेको स्मरण गर्दै दाहालले भोलिका दिनमा आफू प्रधानमन्त्री बन्न सक्ने पनि संकेत गरेका थिए ।

उनले भोलिका दिनमा राजनीतिक उथलपुथल हुन सक्ने तथा त्यसले नेपाली राजनीतिलाई नै तरंगित पार्ने पनि भन्दै देउवाबाट भोलिका दिनमा आवश्यक पर्दा साथ चाहिने भनी भनेको पनि समाचार स्रोतले जानकारी दिएको छ ।

ओलीले आफूलाई अधिकारसम्पन्न भनी प्रचार मात्र गरेको तर भित्रभित्रै भने सरकारमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई हावी गराएको तथा पार्टीमा पनि वामदेव गौतमलाई हावी बनाउने वातावरण बनाई आफूलाई ओझेलमा पार्न खोजेको भनी देउवासमक्ष दुखेसो पोखेका थिए ।

यसैगरी पूर्वएमालेका केही नेताहरुलाई प्रयोग गरी ओलीले आफ्नो विरुद्धमा प्रयोग गरिरहेको भन्दै दाहालले आफू पनि राजनीतिक खेलाडी रहेकाले ओलीको पेलान सहेर नबस्ने भन्दै देउवा तथा कांग्रेसबाट साथ चाहेको बताएका थिए ।

सो भेटमा देउवाले भने सामान्य औपचारिकता पूरा गरी कांग्रेसले व्यक्ति भन्दा पनि संस्था तथा देश र जनताको लागि कार्य गर्ने भनेको पनि समाचार स्रोतले जानकारी दिएको छ । नयाँ विमर्शका साथमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार