प्रहरीले बम नचिन्दाको परिणाम भयावह

२०७६ मंसिर २९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौं – शुक्रबार मध्यरात अञ्जु साह शौच गर्न बाहिर निस्किइन् । सँगै अर्को घरको मूल ढोकाको ग्रिलमा शंकास्पद वस्तु देखेपछि उनले श्रीमान् राजेशलाई उठाइन् । रातो झोलामा जे पनि हुन सक्ने आकलन गर्दै राजेशले उक्त घरभित्र सुतिरहेका छोराछोरीलाई बाहिर निकाले । अर्को घरमा लगेर राखे ।

शंकास्पद वस्तुबारे महेन्द्रनगर इलाका प्रहरीमा खबर गरियो । प्रहरी नआउँदासम्म परिवारका सबै सदस्य शंकास्पद वस्तुबाट टाढै बसे । प्रहरी निरीक्षक अमिरकुमार दाहाल नेतृत्वमा चार सुरक्षाकर्मीको टोली घटनास्थलमा आएको थियो । त्यस बेलासम्म राजेशले बुवा भिखारी साहलाई फोन गरी घरमा बोलाएका थिए । भिखारी पुख्र्यौली घरमा बस्दै आएका छन् ।

‘इन्स्पेक्टर साबले भन्नुभो– झोलामा केही छैन, तर्साउनका लागि केही राखेको होला’, उनले भने, ‘त्यसपछि झोला हटाउन खोज्दा एक्कासि पड्कियो । म बेहोस भएँ ।’

धनुषाको क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगर कुसाई टोलमा प्रहरीको कमजोरीले बम विस्फोट भयो । बाबुछोरासहित तीन जनाले ज्यान गुमाए । घरधनी ४५ वर्षीय राजेश, उनका छोरा १५ वर्षीय आनन्दको घटनास्थलमै मृत्यु भएको हो । बमलाई ‘सामान्य वस्तु’ ठानेर चलाएका प्रहरी निरीक्षक दाहालको उपचारका क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भयो ।

राजेशका बुवा ७० वर्षीय भिखारी, छोरी १९ वर्षीया निकी भनिने अञ्जलीकुमारी, कान्छो छोरो १२ वर्षीय प्रकाश भनिने प्रेम र प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएको धनुषा जिल्ला प्रहरीले जनाएको छ । यस्तै, स्थानीय सविता खातुन र अकबर मन्तुरी सामान्य भएका छन् । भिखारीको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीन जनालाई धरान पठाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत घाइते । बम विस्फोट हुँदा उनीहरू घाइते भएका थिए । तस्बिर स् रत्नप्रसाद आचार्य

‘प्रहरी आउनुअघि परिवारका सबै सदस्य घरबाहिर थिए’, स्थानीय विष्णुदेव महतोले भने, ‘तर, प्रहरीले शंकास्पद वस्तु हानिकारक नरहेको भनेपछि भित्र पसे । इन्स्पेक्टर सरले झोला उठाउनेबित्तिक्कै विस्फोट भयो ।’ परिवारका सदस्यमध्ये अञ्जु मात्रै सकुशल छिन् ।

स्थानीय सुजित महतोले सिमसिम पानी र चट्याङ पर्दै गरेका बेला ठूलो आवाजमा विस्फोट भएको बताए । ‘सिमसिम पानी परिरहेको थियो । चट्याङ पर्दै थियो’, उनले भने, ‘बम विस्फोट हुँदा हामीले त चट्याङ लागेको भन्यौं । पछि घरछेउमै बम विस्फोटपछि क्षतविक्षत अवस्थामा मानिसहरू ढलेको देख्यौं ।’ बम झुन्ड्याइएको ग्रिल, घरको छाना, झ्यालको सिसा, शौचालयको ढोका, पक्की भित्तामा विस्फोटबाट क्षति पुगेको छ ।

राजेश औषधि पसल सञ्चालन गर्दै आएका थिए । उनी यो क्षेत्रका नाम चलेका ‘महाजन’ थिए । उनले ब्याजमा ऋण दिन्थे । १५ वर्षभन्दा बढी समयदेखि ऋण कारोबार गर्दै आएका राजेशले सम्पत्ति पनि ‘रामै्र’ जोडेका थिए । महेन्द्रनगरमै पुख्र्यौली घर भए पनि पछिल्लो पाँच वर्षमा उनले दुइटा थप किनेका थिए । उनले ब्याजकै पैसाबाट डेरी उद्योगसमेत सञ्चालन गरेको स्थानीय बताउँछन् ।

तीन जना पक्राउ

बम विस्फोट गराएको आशंकामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश २ संयोजकसहित तीन जना पक्राउ परेका छन् । प्रदेश संयोजक ५१ वर्षीय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षीय ललिता महरा र रामसोभित गाहालाई पक्राउ गरिएको डीएसपी रामेश्वर कार्कीले बताए । उनीहरूविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शनिबार जिल्ला सुरक्षा समन्वय समितिको बैठक बसेको थियो । घटनामा संलग्न अपराधीलाई तत्काल पक्राउ गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । ‘समीक्षामा प्रहरी निकायबाट भएको कमजोरी तथा आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा निकायलाई सचेत रहन भनिएको छ’, प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘रातिको घटना दुःखद र निन्दनीय छ । सुरक्षा निकाय अनुसन्धानमा लागिरहेको छ । अपराधीलाई छिट्टै कानुनी दायरामा ल्याउँछौं ।’ घटनाको बृहत् अनुसन्धानका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय टोली गठन गरिएको छ ।

आइतबार संस्थागत विद्यालय बन्द

बम विस्फोटमा ज्यान गुमाएका राजेश साहका छोरा आनन्द जनकपुरस्थित सिद्धार्थ शिशु सदन विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । घटनाको शोकमा आइतबार जिल्लाभरिका संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको छ । प्याब्सन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डलले शोकमा एक दिन विद्यालय बन्द रहने जनाएका छन् । समितिले यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई यथाशीघ्र कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गरेको छ ।

तीन घाइतेको शल्यक्रिया

बम विस्फोटका घाइते तीन जनाको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । प्रहरी जवान रिजनाथ महतो, अञ्जलीकुमारी साह र प्रेम साहको शल्यक्रिया गरिएको छ । यीमध्ये महतोको अवस्था चिन्ताजनक छ । अञ्जली र प्रेमकुमारको अवस्था खतरामुक्त रहेको प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले बताए ।

तीनै जनाको टाउकोदेखि पैतालासम्म गम्भीर प्रकृतिको चोट लागेको छ । बमको छर्राले पेटमा पनि लागेकाले घाइतेहरूको शल्यक्रिया गर्नुपरेको सहायक प्रवक्ता ऐरले बताए ।

इलाका प्रहरी धरानका डीएसपी ढुण्डीराज न्यौपानेले महतोको छाती र अञ्जली र प्रेमकुमारको खुट्टाको शल्यक्रिया गरिएको बताए । चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले उनीहरू केही दिन प्रतिष्ठानमै राखिने उनले सुनाए ।

बम विस्फोटमा मृत्यु भएका इलाका प्रहरी महेन्द्रनगर धनुषाका प्रहरी निरीक्षक अमिरकुमार दहालको शव काठमाडौं लगिएको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा दाहालको शव नेपाली सेनाको हेलिकप्टरबाट परिवारको जिम्मा लगाउन काठमाडौं पठाइएको डीएसपी न्यौपानेले बताए । सेनाको हेलिकप्टर धरान बस्न नमानेपछि शव विराटनगर विमानस्थल पुर्‍याइएको थियो ।

संखुवासभाको मादी घर भएका दाहाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र आमाबुवा गोकर्णेश्वरमा बसोबास गर्छन् । उनी सई हुँदा करिब १४ वर्ष नेकपा वरिष्ठ नेता झलनाथ खनालका सुरक्षागार्ड (पीएसओ) भएका थिए ।

दाहाल २०५५ कात्तिक १ गते प्रहरी सहायक निरीक्षक (असइ) पदमा भर्ना भएका थिए । २०६० असोज ९ गते प्रहरी नायब निरीक्षकमा बढुवा भए । २०७५ वैशाख १९ गते प्रहरी निरीक्षकमा बढुवा भएका उनी २०७५ कात्तिक ३० देखि धनुषामा कार्यरत थिए । एक वर्षदेखि इलाका प्रहरी महेन्द्रनगरमा कार्यरत उनी यसअघि धनुषाधाम कार्यालयमा प्रमुख भएर बसेका थिए । उनी तीनपटक पुरस्कृत भएका थिए । अन्नपूर्णबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार