डिस्को काण्डले लिग पनि गुमाए यी खेलाडीले

२०७६ मंसिर २७, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – भुटानमा कुवेतसँग विश्वकप छनोट खेल खेल्न जानुअघि डान्सबार र डिस्को गएर अनुशासनको कारवाहीमा परेका चर्चित फुटबलर विमल घर्तीमगरसहित चार खेलाडीले शहिद स्मारक ‘ए’ डिभिजन लिग पनि खेल्न नपाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीमाथि छानबिन भइरहेकोले तत्काल कुनैपनि प्रतियोगिता खेल्न नपाउने बताए । ‘यस विषयमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ । समितिको निर्णय नआएसम्म लिग खेल्न पाउने कुरै छैन,’ शेर्पाले भने । एन्फाले लिगमा हुने खेल मिलेमतो र अनुशासनहिनता जस्ता गतिविधिलाई रोक्न छुट्टै संयन्त्र बनाउन लागेको पनि शेर्पाले बताए । साढे ६ करोड लगानीको महत्वकाङ्क्षी ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।

विश्वकप छनोट र १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेका विमलसहित अन्जन बिष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी राति क्याम्पबाट भागेर ठमेल र दरबारमार्गका विभिन्न डान्सबार र डिस्को पुगेका थिए ।

डान्सबार गएर झगडा गरेको खुलेपछि यी खेलाडीलाई एन्फाले तत्काल बर्खास्त गरेको थियो । विश्वकप छनोटसँगै साग फुटबल खेल्न नपाएका यी खेलाडीले लिगपनि गुमाउने भएका छन् ।

यी खेलाडीबिनै नेपालले भर्खर फाइनलमा भुटानलाई २–१ गोलले हराएर साग फुटबलको स्वर्ण जितेको थियो । नेपालले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो । रातोपाटि

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार