प्रेस सल्लाहकारलाई कारबाही गर्ने प्रधानमन्त्रीको तयारी

२०७६ मंसिर २५, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमान्डौ – सचिवालय चुस्त नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गत महिना सल्लाहकार तथा सहयोगीको टिम हेरफेर गरे । त्यसपछि पनि प्रधानमन्त्रीको सचिवालय चुस्त हुन सकेको छैन, बरु प्रधानमन्त्रीलाई झन् अफ्ठेरोमा पार्ने काम हुन थालेको छ । सचिवालयभित्रै विवाद बढ्न थालेको छ ।

प्रेस सल्लाहकारका रुपमा नियुक्त सूर्य थापाका कारण प्रधानमन्त्रीको सचिवालयमा विवाद बढेको छ । थापाका उच्छृङखल गतिविधिका कारण प्रधानमन्त्री समेत उनीसँग रुष्ट भएको एक अधिकारीले बताए ।

फेसबुक स्टाटसका कारण थापा पछिल्लो समय विवादमा परेका छन् । उनले नेकपाका अध्यक्ष प्रचण्डलाई होच्याइएको एउटा लेख गत सोमबार फेसबुकमा शेयर गरेका थिए । पार्टी एकता नगरेको भए प्रचण्ड एउटा सानो पार्टीको अध्यक्षमा सिमित हुन्थे भन्ने कुरालाई तानेर उनले सो लेख शेयर गरे । जसमा उनीप्रति धेरैले आलोचना गरेका छन् । खासगरी पूर्व माओवादी कार्यकर्ताहरुले आक्रोशपूर्ण टिप्पणी गरेका छन् ।

सो कुरा नेकपा अध्यक्ष प्रचण्डले पनि हेरें । प्रधानमन्त्रीकै प्रेस सल्लाहकारले त्यसरी आफूलाई सामाजिक सञ्जालमा होच्याएको थाहा पाएपछि उनले ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई गुनासो गरे ।

रिमालले तत्कालै थापालाई फोन गरेका थिए । महत्वपूर्ण पदमा रहेको व्यक्तिले त्यसरी सामाजिक सञ्जालमा विवादित कुराहरु लेख्दा र शेयर गर्न नहुने भन्दै रिमालले उनलाई सम्झाउन खोजेका थिए । तर, थापाले त्यो आफ्नो व्यक्तिगत अधिकारको कुरा भएको भन्दै फोन राखिखिएका थिए । सोही कुरा रिमालले प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरिसकेका छन् । थापाको त्यस्तो गतिविधि थाहा पाएपछि प्रधानमन्त्री ओलीले थापालाई स्पष्टिकण सोध्ने तयारी गरेको स्रोत बताउँछ ।

पार्टीको केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीको प्रेस सल्लाहकार जस्तो व्यक्तिले आफ्नो व्यक्तिगत अधिकारको कुरो भन्दै सामाजिक सञ्जालमा जथाभावी लेखेपछि त्यसले प्रधानमन्त्रीलाई नै असर पुगेको छ ।

त्यसरी आफ्नो आलोचना भएपछि उनले सोमबार बेलुका नै फेसबुकमा अर्काै स्टाटस लेखे । जसमा ढेंडु जस्ता शब्द राखिएका छन् । पूर्व माओवादीलाई लक्षित गरी उनले त्यसरी गाली गलौचपूर्ण स्टाटस लेखेका छन् । त्यसले पनि थप विवाद निम्त्याएको छ ।

त्यसो त थापासँग प्रधानमन्त्रीको सचिवालयका अन्य सदस्यहरु समेत हैरान भइसकेका छन् । थापाले परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको कार्यकक्ष नै कब्जा गरेका छन् । प्रेस सल्लाहकारको कार्यकक्ष उर्जा मन्त्रालयमा थियो । तर, अर्काे भवनमा आफु नबस्ने भन्दै उनी भट्टराईको कार्यकक्षमा गएर बसेका थिए । भट्टराई अमेरिका भएको मौका छोपी त्यसरी उनले कार्यकक्ष कब्जा गरेका थिए । जसकारण भट्टराई र थापाबीच विवाद भएको थियो । नियुक्त भएलगत्तै प्रधानमन्त्री बस्ने कुर्सीमा बसेर पत्रकार सम्मेलन गरेपछि उनी विवादमा तानिएका थिए ।

थापा पहिलेदेखि नै पार्टीमा अजराक नेताका रुपमा चिनिन्छन् । आफ्नै पार्टीका नेताविरुद्ध समेत उनले जथाभावी आरोप लगाएर गाली गर्ने गरेका छन् । खासगरी वामदेव गौतममाथि उनले पटक पटक विषबमन गरेका थिए ।

नेतामा हुनुपर्ने संस्कार नहुँदा एक महिनामा नै उनको पद धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार