‘गोल्डेन गर्ल’ गौरिकाकाे थप कीर्तिमान

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमान्डौ – नेपाली खेलकुदकी ‘गोल्डेन गर्ल’ गौरिका सिंहले नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा व्यक्तिगत चाैथाे स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान बनाएकी छिन्।

सातदोबाटोस्थित पौडी पोखरीमा उनले साेमबार पाैडीकाे १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितिन्, जुन जारी सागमा उनकाे व्यक्तिगत चाैथाे स्वर्ण हाे।

गाैरिकाले ५८.१३ सेकेन्डमा निर्धारित दूरी पूरा गरी चाैथाे स्वर्ण हात पारेकी हुन्।

यस स्पर्धामा भारतकी सिवान्गी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितेका छन्।

गाैरिकाले आइतबार ४ सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन्।

उनले यसअघि २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितेसकेकी छिन्।

गाैरिकाले भने एकै स‌ंस्करणमा चार स्वर्ण पदक जितेर नेपाली खेलकुद इतिहासकै सबभन्दा सफल खेलाडीका रुपमा नाम लेखाएकी छिन्।
यसका साथै उनले महिला ४ सय मिटर रिलेमा पनि कांस्य पदक जितेकी छिन्।

सागमा नेपाललाई एकल विधामा पहिलो स्वर्ण पदक जिताउने कीर्तिमान बनाएकी गौरिकाले एकै सागमा सर्वाधिक स्वर्णपदक जित्ने कीर्तिमान पनि बनाएकी छिन्।

आज चाैथाे स्वर्ण हात पारेसँगै १६ वर्षीय गौरिकाले नेपाली खेलकुदमा ४ वटा साग स्वर्ण पदक जितेर सर्वाधिक सफल खेलाडीको कीर्तिमान बनाएका तेक्‍वान्दोका दीपक विष्टकाे कीर्तिमानसमेत बराबरी गरेकी छन्।

नेपाली खेलकुद इतिहासमा दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने कीर्तिमान यसअघि तेक्‍वान्दोका दीपक विष्टको नाममा थियो। दीपकले सन् १९९९ मा नेपालमै सम्पन्‍न आठाैं‌ साफमा पहिलाे स्वर्ण पदक जितेका थिए।

पाकिस्तानको इस्लामावादमा २००४ मा सम्पन्‍न नवाैं साफमा दोस्रो स्वर्ण पदक जितेका दीपकले २००६ मा श्रील‌ंकाको काेलम्बोमा भएको १०औं सागमा स्वर्ण पदक जित्दै ह्‍याट्रिक पूरा गरेका थिए। त्यही स‌ंस्करणदेखि दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो खेलमेलाको नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) राखिएको थियो।

दीपकले २०१० मा ब‌ंगलादेशमा सम्पन्‍न ११औं‌ सागमा करिअरको चाैथो स्वर्ण पदक जितेका थिए।

तर, गाैरिकाले भने एकै स‌ंस्करणमा चार स्वर्ण पदक जितेर नेपाली खेलकुद इतिहासकै सबभन्दा सफल खेलाडीका रुपमा नाम लेखाएकी छिन्।

ब्राजिलकाे रियोमा २०१६ मा सम्पन्‍न ओलम्पिक खेलकुदमा विश्‍वभरकै सबभन्दा कम उमेरको खेलाडीका रुपमा कीर्तिमान बनाएर नेपाललाई चर्चामा पुर्‍यएकी गाैरिकाले जारी सागमा चार स्वर्णका साथै दुई रजत र दुई कास्य पदक जितिसकेकी छिन्।

भारतको गुवाहटी र सिलाेङमा सम्पन्‍न १२औं‌ सागमा पनि गाैरिकाले एक रजत पदक जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार