महन्थ ठाकुर सभामुख बन्ने पक्का !

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमान्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राजपा नेपालबीच पछिल्लो समय सकारात्मक वार्ता तथा छलफल चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली एपेण्डिसाईटिसको शल्यक्रियापछि अस्पतालबाट हिजोमात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा फर्किएका छन् । बालुवाटार फर्किएलगत्तै ओलीले राजनीतिक भेटवार्तालाई तिव्रता दिईरहेका छन् ।

प्रतिनिधिसभाको सभामुख पद रिक्त छ । कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि सभामुख पद रिक्त भएको हो । अहिले सभामुख चयन गर्नुपर्ने चटारो छ । प्रधानमन्त्री ओलीले यसको लागि आन्तरिक गृहकार्य गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग ओलीले यसबारेमा आन्तरिक सहमति बनाईसकेको स्रोतको दाबी छ ।

सकेसम्म नेकपाभित्रैबाट सभामुख बनाउनुपर्ने दबाब पार्टीभित्रबाट आएपनि अध्यक्षद्धय ओली र दाहालले यसबारेमा ठोस निर्णय गरिनसकेको स्रोतको दाबी छ । यो बीचमा राजपाले पनि सरकारलाई समर्थन गर्ने हल्ला चलिरहेको छ । यसको पछाडिको रहस्य भनेको सभामुख पदमा पावर शेयरिङ नै मुख्य कुरा हो भन्ने बुझिन्छ । राजपाले सरकारलाई समर्थन गर्ने एउटै शर्त भनेको सभामुख आफ्नो पार्टीबाट बनाईनुपर्ने रहेको छ ।

राजपाको उक्त मागप्रति नेकपाका अध्यक्ष दाहाल सकारात्मक छन् । अर्का अध्यक्ष ओली पनि यसमा सहमत हुनसक्ने आँकलन गरिएको छ । समाजवादी पार्टीले सरकार छोड्ने तयारी गरिरहेको बेला मधेशवादी दलको समर्थन सरकारमा रहिरहोस भन्ने ओली र दाहालको चाहना छ । त्यसैले पनि नेकपाको नेतृत्व सभामुख राजपालाई दिन राजी हुने बुझिएको छ ।

उता, राजपाका पूर्व संयोजक तथा पूराना नेता महन्थ ठाकुर सर्वमान्य नेताको रुपमा परिचित छन् । नेपालका प्रायः ठूला सबै लोकतान्त्रिक आन्दोलनमा उनको भूमिका अग्रणी मोर्चामा थियो । उनको नाममा त्यति विवादपनि नहुने ओली र दाहालको ठम्याई छ । सरकारप्रति मधेशबाट आउने आलोचना र नकारात्मक टिप्पणी मत्थर पार्न महन्थलाई सभामुख दिनेबारे नेकपाभित्र छलफल भएको छ । तर, निर्णय भैसकेको छैन् ।

संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने व्यवस्था गरेको छ । सोहीअनुसार अहिले नेकपाबाट डा. शिवमाया तुम्बाहाम्फे उपसभामुख छिन् । उनले ओलीले उपसभामुखबाट राजीनामा दिनको लागि गरेको आग्रहसमेत अस्विकार गरेकी छिन् । उनले आफूले नै सभामुख पाउनुपर्नेसमेत माग गरेकी छिन् । श्रोत रिपोटर्स क्लब नेपाल बाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार