यस्तो पनि हुन्छ ! दशकौंदेखि ट्याक्सी सिन्डिकेट, सस्तोमा चलाउँछु भन्नेले समेत पाउँदैनन्

२०७६ मंसिर २३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

काठमाडौँ – २०२९– एयरपोर्टमा हरियो प्लेटका ट्याक्सी दर्ता
२०४८– कालो प्लेट नम्बरको ट्याक्सी दर्ता गर्ने निर्णय
२०५७– ट्याक्सी संख्या ७ हजार ५ सय
२०७२– ३३ सय ५० नयाँ ट्याक्सी दर्ता खुला
२०७३ – १५ सय ट्याक्सी भूकम्पपीडितका लागि खुला
सरकारले सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गरेको घोषणा गरे पनि ट्याक्सीमा दशकौंदेखिको सिन्डिकेट भने उस्तै छ । दशकौं लामो सिन्डिकेटका कारण प्रतिस्पर्धाका आधारमा सस्तो दरमा ट्याक्सीमार्फत सेवा दिन्छु भन्नेले पनि पाएका छैनन् ।सरकार आफैंले प्रतिस्पर्धामा नयाँ ट्याक्सी दर्ता खुला नगरेर सिन्डिकेट सिर्जना गरिरहेको हो । सार्वजनिक यातायात सुधार अभियन्ता प्रेमबहादुर थापा सरकारले नयाँ ट्याक्सी दर्ता खुला नगर्दा यो क्षेत्रमा सिन्डिकेट भएको बताउँछन् ।
हाल ट्याक्सी चढ्नेबित्तिकै १४ रुपैयाँ र प्रतिकिलोमिटर ३९ रुपैयाँ तिर्नपर्ने हुन्छ । तर, नयाँ ट्याक्सी ल्याएर सुरुमा चढ्दा तिर्नुपर्ने १४ रुपैयाँ लिन्न र प्रतिकिलोमिटर पर्ने भाडा पनि सस्तोमा दिन्छु भन्नेले पनि ट्याक्सी दर्ता गरेर सञ्चालन गर्न पाएका छैनन् । हाल सञ्चालनमा रहेका अधिकांश ट्याक्सी पुराना छन् । ती ट्याक्सी कुनै समय विशेष छुटमा आएका हुन् भने पुराना ट्याक्सी नम्बर लाखौं रुपैयाँमा किनबेच समेत हुने गरेको छ ।

२०२९ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हरियो प्लेटका ट्याक्सी दर्ता भएको थियो । नेपालमा कालो प्लेटका ट्याक्सी भने २०४८ सालपछि मात्र सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको समयमा कालो प्लेटका ८ सय सीसीको ट्याक्सी दर्ता गर्ने मन्त्रिपरिषद्बाट निर्णय भएको थियो । त्यस समयमा ट्याक्सी सर्वसाधारणको सेवाका लागि भनेर भन्सार छुटमा भित्रिएका थिए । ती ट्याक्सी भन्सार छुटमा ल्याएर व्यापारीले महँगोमा बेचेको यस क्षेत्रका जानकार बताउँछन् ।

निगरानी

कालो नम्बर प्लेटको ट्याक्सीका लागि २०४८ सालदेखि १७ जेठ २०५७ सम्म दर्ता खुला गरिएको थियो । त्यस अवधिमा ७ हजार ५ सय ट्याक्सी उपत्यकामा दर्ता भएको थियो । तीमध्ये हाल ५ हजार ६ सय ५० ट्याक्सी छन् । कतिपय ट्याक्सी डिजेलबाट चल्ने भएकाले एक डेढ वर्ष सञ्चालन भएर बिग्रिएका थिए । पेट्रोलबाट सञ्चालन हुने ट्याक्सी भने २० वर्षपछि नयाँ नम्बर प्लेटमा चल्ने गरेका छन् भने त्यही नम्बर लाखौं रुपैयाँमा किनबेच हुने गरेको हो ।
२०६९ सालमा बाग्मती अञ्चल कार्यालय एकान्तकुनाले सरकारसँग ट्याक्सी खोल्नेसम्बन्धी प्रस्ताव माग गरेको थियो । अञ्चल कार्यालयले सबै ट्याक्सी थोत्रा भएको र सेवा पनि नराम्रो भएको भन्दै ५ हजार ट्याक्सी दर्ता खोल्न माग गरेको थियो । सो माग मन्त्रालयमा पठाए पनि फाइल दराजभित्रै थन्कियो । १९ भदौ २०७१ मा मन्त्रिपरिषद्बाट दर्ता खुलाउनेसम्बन्धी निर्णय भयो भने लक्जरियस ट्याक्सी ल्याउनेसम्बन्धी प्रतिवेदन बुझाउन एक महिनाको समय तोकेर एक कमिटी गठन गरिएको थियो । त्यसपछि २०७२ सालमा ३ हजार ३ सय ५० वटा मात्र ट्याक्सी खोल्ने निर्णय भएको थियो । २० साउन २०७२ मा ट्याक्सी खोल्ने सूचना सार्वजनिक गरेकामा १५ हजार ७ सय ५० जनाले फाराम बुझाएका थिए ।
गोलाप्रथाबाट छानिएकाले २०७३ असार मसान्तसम्म ल्याइसक्ने समय तोकिएकोमा १२ जनाले ल्याउन सकेनन् ।
सरकारले भूकम्पपीडितका लागि २०७३ साउदेखि भदौसम्म १५ सय ट्याक्सी दर्ता खुलाएको थियो । त्यसमा १ लाख ४९ हजार ५ सय ५८ ले फाराम बुझाएका थिए । यो माग संख्याले हजारौंले ट्याक्सी खरिद गर्न चाहेको देखिएको तर सरकारले सिन्डिकेट गरिरहेको अभियन्ता थापा बताउँछन् । १ लाख ४९ हजार ५ सय ५८ फाराम बुझाएकामा २०७४ असार ७ र ८ मा गोलाप्रथाका आधारमा १५ सय छानिएका थिए ।
यातायात व्यवस्था विभागको महानिर्देशकमा लावण्य ढकाल आएपछि १२ असोज २०७५ मा २० वर्ष पुराना ट्याक्सीलाई ८ सय सीसीमा पुनः दर्ता नगराउने निर्णय गरेकोमा ट्याक्सी व्यवसायीले आन्दोलन गर्ने घोषणा नै गरे । पुनः १८ पुसमा २० वर्ष पुरानालाई नयाँ किनेर दर्ता गर्ने निर्णय भयो । हालै मात्र विभागले अबदेखि १२ सय सीसीको ट्याक्सी मात्र दर्ता गर्ने निर्णय गरेको छ । उक्त निर्णय उल्टाएर ८ सय सीसीमै झार्ने चलखेल भइरहेको कतिपय सरोकारवाला बताउँछन् ।

मिटरमा जानै मान्दैनन्

उपत्यकामा कुनै एक ठाउँबाट अर्को ठाउँमा जान पर्दा ट्याक्सीले मिटरमा नजाने गरेको पाइएको छ । यात्रुले मिटरमा जान चाहे पनि ट्याक्सीवाला मिटरमा सेवा दिन चाहँदैनन् । ट्राफिक प्रहरीले मिटरमा नजाने ट्याक्सीमाथि लगातार कारबाही गर्दै आए पनि ट्याक्सी व्यवसायी भने मिटरमा जाँदा घाटा हुने भन्दै नजाने गरेको सर्वसाधारणको गुनासोे छ ।

एयरपोर्टमा ट्याक्सीको तमासा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीले तमासा गर्ने गरेका छन् । विमानस्थलबाट आउने यात्रु र ट्याक्सी चालकबीच खुलेआम भाडामा मोलमोलाइ हुने गरेको छ । अनावश्यक बार्गेनिङ र यात्रुलाई बाटो छेकेर हैरान पार्नाले अन्तर्राष्ट्रिय विमानस्थल मोलमोलाइ गर्ने ठाउँ बन्न पुगेको छ । ट्याक्सीले मिटरमा नगएर मनलाग्दी भाडा उठाउने गरेको गुनासो रहँदै आएको छ ।
पर्यटकका लागि तोकिएका हरियो नम्बर प्लेटका ट्याक्सीले पनि एयरपोर्टमा रजाइँ गर्दै आएको गुनासो छ । उनीहरूले पर्यटकसँग मनलाग्दी भाडा उठाउने गरेका छन् । अभियन्ता प्रेमबहादुर थापा एयरपोर्टमा ट्याक्सीले मनलाग्दी गर्ने गरेको र मिटरमा जानुपर्नेमा भाडामा पनि मोलमोलाइ हुने गरेको बताउँछन् ।

कम छैनन् ट्याक्सीका दुःख

दशकौंदेखि खुलेआम प्रतिस्पर्धाका आधारमा ट्याक्सी ल्याएर सञ्चालन नभए पनि ट्याक्सी चालकका दुःख भने उस्तै छन् । उनीहरूले भाडा समायोजन नभएको, एउटै प्रदेशको अर्को जिल्लामा जाँदा पनि सहजै जान नपाएको र ट्राफिक प्रहरीबाट अनावश्यक हैरानी हुने गरेको दुखेसो पोख्ने गरेका छन् । ‘कुनै ठाउँमा एकछिन रोकेर राखेमा पनि ट्राफिकले चिट काट्छ । हामीलाई यात्रु बसाल्न र ओराल्न समेत छुट छैन । न सुविधा छ न त पार्किङ गर्ने ठाउँ नै छ,’ एक ट्याक्सी चालकले भने । अर्का ट्याक्सी चालकको गुनासो पनि उस्तै छ । उनी भन्छन् ‘रातको समयमा निन्द्रा मारेर सेवा दिँदा पनि यात्रुले भाडा दिँदैनन्, कतिपयले त ठूला ठूला कुरा गरेर उल्टै थर्काएर हिँड्छन् ।’ राजधानीबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार