जिल्ला जिल्लामा समर्थकको भीड जुटाउँदै पूर्वराजा ज्ञानेन्द्र, के छ भित्री योजना ?

२०७६ मंसिर २०, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह अहिले प्रदेश ५ को भ्रमणमा रहेका छन् । उनको स्वागतमा हजारौं समर्थक सडकमा उत्रिएका छन् । काठमाडौंमा एक डान्स क्लब पुगेर जनताको ध्यान आकर्षित गराएका उनी हाल भैरवा, पाल्पा लगायत प्रदेश ५ को भ्रमणमा छन् । मुलुकमा पछिल्लो दशक भएका राजनीतिक उपलब्धीले राष्ट्रियता संकटमा परेको भन्दै नेताहरुप्रति असन्तुष्ट व्यक्त गर्ने गरेका ज्ञानेन्द्र आफ्नो समर्थनमा जनमत बटुल्दैछन् । धार्मिक भ्रमणको नाम दिएर जिल्लाको भ्रमणमा निस्कने गरेका उनी खास खास समयमा विज्ञप्ति जारी गरेर घुमाउरो पारामा मुलुकका लागि राजसंस्थाको आवश्यकताबारे बताउने गरेका छन् ।

उनी जहाँ जहाँ पुग्छन्, त्यहाँ त्यहाँ उनका समर्थकले ‘राजा आऊ देश बचाऊ’ जस्ता नारा लगाउने गर्छन् । जसले उनलाई हौसला प्रदान गर्ने गरेको छ । बुहारी तथा पूर्वयुवराज्ञी हिमानी शाहलाई अघि सार्दै सामाजिक कार्यमा लागेका ज्ञानेन्द्रले जनता आकर्षित हुने खालका गतिविधि गर्दै आएका छन् । बुहारी हिमानीको नेतृत्वमा रहेको ‘हिमानी ट्रष्ट’को नाममा सामाजिक कार्य गर्दै आएका ज्ञानेन्द्रले नाति हृदयेन्द्र शाहलाई समेत अगाडि सार्न थालेका छन् ।

छोरा पारस शाह आफ्नो नियन्त्रणमा नरहेपछि बुहारी हिमानीसहित अन्य पारिवारिक सदस्यलाई अघि सार्दै सामाजिक कार्यमा लागेका ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गतेको शाही घोषणा गर्दा भएको सहमति दलहरुले कार्यान्वयन नगरेको र आफूहरुमाथि नि षे धको राजनीति गरेको भन्दै गुनासो गर्दै आएका छन् । वैशाख ११ गतेको शाही घोषणा अघि भएको भनिएको सहमतिमा मुलुकमा राजसंस्थाको भूमिका राख्ने उल्लेख रहेको कतिपयले बताउने गरेका छन् ।

तर, मुलुकबाटै राजसंस्था अन्त्य भएसँगै उनी जनताको मन आकर्षित गरेर फेरि मुलुकमा हिन्दू राष्ट्र कायम गराउँदै राजसंस्था पुनर्स्थापित गराउन लागि परेको नेताहरुले आरोप लगाउने गरेका छन् । राजनीतिक दलहरुले जनअपेक्षित काम गर्न सकेपछि जनताहरु राजसंस्थाप्रति आकर्षित हुन थालेको विश्लेषण पनि गरिन थालिएको छ । अहिले प्रदेश ५ मा रहेका विभिन्न मठमन्दिरमा पूजाअर्चना गर्दै हिँडेका पूर्वराजा ज्ञानेन्द्र अन्तर्राष्ट्रिय समर्थन जुटाउन पनि विदेश भ्रमणमा पनि जाने गरेका छन् । उनको भ्रमणलाई लिएर प्रदेश ५ को सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ ।

प्रदेश ५ को भ्रमणका क्रममा बिहीबार भैरहवामा पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको तस्विर स्वामी आनन्द अरुणले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार