सभामुख नहुँदा संसद कामविहीन भयो, सरकार कहाँ सुतेको छ ? : लक्ष्मणलाल

२०७६ मंसिर १९, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – राजपा नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले संसदको कामनै अवरुद्ध भएकोले तत्काल संसद सूचारु गर्न हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले संसद सूचारु नहुँदा संसदको सम्पूर्ण कामनै अवरुद्ध भएको र संसदीय समितिहरुपनि कामविहीन भएको गुनासो पोखे ।

उनले भने,‘सभामुखको अनुपस्थितिमा उपसभामुखले संसदको अध्यक्षता गर्नेबाहेक अरु केहीपनि गर्न पाउँदैन्, संविधानमा नै ठूलो त्रुटि छ ।’

नेता कर्णले सभामुखको उपस्थिति अनिवार्य भैसकेको आवश्यकत्ता सुनाए । उनले भने,‘अहिले संसदको मात्रै होईन, संसदीय समितिका काम र अनुगमनपनि अवरुद्ध भएका छन् । यसतर्फ म सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’ देशमा भैरहेका र देखिएका सबैखाले बिडम्बनाको अवस्थाको अन्त्य गर्नको लागि पनि संसदको बैठक तुरुन्त बोलाउनुपर्ने उनको माग छ ।

कर्णले सभामुखको नियुक्ती विशेष अधिवेशन बोलाएरपनि गर्न सकिने सुनाए । उनले भने,‘विशेष अधिवेशन बोलाएर भएपनि सभामुखको नियुक्ती तत्काल गर्नुपर्छ ।

संसदको अवरोध तत्काल खुलाउनुपर्छ ।’ उनले सरकार निस्क्रिय भैरहेको पनि आरोप लगाए । उनले भने,‘५१ धारी भनेको सत्तापक्ष हो, उसले कसलाई सभामुख बनाउने हो आपसी छलफल गरेर यो काम गर्नुपर्छ ।’

कर्णले नेपालले भारत र चीन दुवै छिमेकीसँग सीमा विवाद समाधानको लागि कुटनीति पहल गर्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय÷सर्वपक्षीय बैठकमा कुटनीतिक पहलमार्फत सीमा विवाद हल गर्ने सहमति भएको छ । हामी सबैको सरकारलाई पूरा साथ र समर्थन छ ।’

उनले नेपलाभित्र उच्छृंखलता देखाएर विवादको समाधान नहुने पनि उनको तर्क छ । उनले थपे,‘सरकारले कुटनीतिक पहल अविलम्ब गर्ने भनेर बालुवाटारमा सहमति भएको हो, तर अहिलेसम्म सरकारले यो पहल गरेको छैन् । सरकार कहाँ सुतेको छ ? सीमा विवाद समाधानको लागि पहल लिने काममा किन ढिलो भयो ?’

त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विशेष दुत बनाएर पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाललाई पठाउने भन्ने कुरापनि बाहिर आएको सुनाउँदै भने,‘यो कुरा सत्य हो कि होईन, बाहिर यस्तै चर्चा छ ।

यदि हो भने उहाँ कहिले जानुहुन्छ ? अथवा जाने कि नजाने ? तर, भारतसँग अविलम्ब वार्ता गर्नुपर्छ ।’ उनले भारत र चीन दुवै देशसँगको सीमा विवादको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे ।

तर, सीमा विवाद समाधानको लागि ढिलाई हुनुमा मुख्य दोष सरकारको नै रहेको उनको आरोप छ । कर्णले थपे,‘सरकारकै कारण ढिलाई भयो ।

उसले कुनै सकारात्मक पहलकदमी नै लिएको देखिएन् ।’ त्यतिमात्रै नभएर नेता कर्णले भारतका लागि नेपाली राजदुतलाई मन्त्रीसरहको हैसियत दिएको भन्दै राजदुतले त्यहाँ बसेर अहिलेसम्म के कति काम गरे ? त्यसको पनि यथार्थ जानकारी बाहिर ल्याउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार