उपनिर्वाचनको परिणामपछि नेकपाभित्र व्यापक असन्तुष्टि

२०७६ मंसिर १७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 1 मिनेट

काठमाडौं – शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपाले पहिला आफूले जितेका दुई महत्वपूर्ण स्थान भक्तपुर र धरानमा पराजय व्यहारेपछि पार्टीभित्र असन्तुष्टि सुरु भएको छ। उपनिर्वाचनमा नेकपाले सबैभन्दा बढी ३० सिटमा जित हासिल गरेको छ । प्रतिनिधिसभा १, प्रदेशसभा १, गाउँपालिका अध्यक्ष ३, उपाध्यक्ष १ र वडाध्यक्ष २४ गरी ३० स्थानमा नेकपाले जित हात हासिल गरेको हो।

उपनिर्वाचनमा नेपाली कांग्रेसले एउटा प्रदेशसभा सदस्य, एउटा उपमहानगरको मेयरसहित १३ ठाउँमा जित हात पारेको छ । निर्वाचनको परिणामलाई लिएर नेकपाका नेताहरूले फरक–फरक धारणा व्यक्त गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले उपनिर्वाचनको परिणामबाट सरकार र पार्टीको आलोचना जनताले अस्वीकार गरेको बताएका छन्।

स्थानीय, प्रदेश र संघीय संसद्को रिक्त पदका लागि भएको उपनिर्वाचनमा नेकपाले ३१ स्थानमा जित हासिल गरेको र यो पहिलेको भन्दा अझ राम्रो जित भएको बताएका छन् । उनले प्रदेशसभाअन्तर्गत बागलुङमा वाम गठबन्धनका उम्मेदवारको जितलाई पनि नेकपाको जितका रूपमा गणना गर्दै ३१ स्थान जितेको दाबी गरेका हुन्।

‘स्थानीय, प्रदेश र संघीय संसद्का रिक्त ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले ५९.५ प्रतिशत स्थानमा विजयी हासिल गरेको छ ।’ सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘एकताअघि पार्टीले ५३.८ जितेको थियो । अहिले ५.८ प्रतिशत बढी हासिल भयो । यसबाट सरकार र पार्टीको अनुचित आलोचना जनताले अस्वीकार गरेको स्पष्ट भएको छ ।’

उनले धरान र भक्तपुरमा पार्टीको पकड राम्रो हुँदाहुँदै पनि हार्नु आश्चर्यको कुरा भएको बताएका छन् । भक्तपुरमा प्रदेशसभा सदस्यमा नेकपाले हार व्यहोरेको छ । उम्मेदवार छनोटमा समेत विवाद देखिएको उक्त क्षेत्रमा नेकपा पराजित भएको हो। धरान उपमहानगरपालिकाको प्रमुखमा पनि नेकपाले हार व्यहोरेको छ ।

दुवै स्थानमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। धरानमा ठूलो मतान्तर हुँदा पनि पार्टी पराजित भएपछि नेकपाभित्र असन्तुष्टि बढेको हो। अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा पनि नेकपा पराजित बनेको छ। यसैगरी प्रधानमन्त्रीको निवास रहेको भक्तपुरमा समेत नेकपा पराजित भएको छ। नेकपाले निर्वाचनको समीक्षा गर्न चाँडै केन्द्रीय समिति र स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको एक नेताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार