चुनावपछि रवीन्द्र मिश्रको विकल्प खोज्दै साझा पार्टी

२०७६ मंसिर १७, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं – आफूलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन खोजेको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी उपनिर्वाचनपछि नेतृत्व परिवर्तनको सोचमासमेत पुगेको छ । यसै हप्ता सम्पन्न उपनिर्वाचनमा अपेक्षित परिणाम नआएपछि नेतृत्व परिवर्तन गर्नेसम्मको सोचमा पुगेको सो पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले क्यानाडानेपालसँग भने । पार्टीले सुशासन, विकास, समृद्धि र जनताको विश्वास जित्ने लक्ष्यका साथ अघि बढेको जानकारी दिएका उनले जनताको मन जितिनसकेकाले अब पार्टीको ध्यान यसमै केन्द्रीत रहने बताए । हालै सम्पन्न निर्वाचनमा अपेक्षित मत नआए पनि साझाले अघिल्लो निर्वाचनको तुलनामा बढी मत ल्याएको प्रवक्ता आचार्यको दाबी छ । कास्की २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि भएको अघिल्लो चुनावको भन्दा अहिलेको उपनिर्वाचनमा बढी मत ल्याएको जानकारी दिँदै उनले भने, ‘कास्की २ मा पहिले ८३२ मत पाएको थियौँ, अहिले ९६२ मत ल्याएका छौंँ ।’

सामाजिक सञ्जालमा राम्रो साथ दिएको देखिए पनि जनताले विश्वास गरेका रहेनछन् नि ? भन्ने प्रश्नमा उनले आफूहरु पनि आश्चर्यमा परेको बताए । तर, कांग्रेस र नेकपाको पहिल्यैदेखिको प्रभाव र छापलाई परिवर्तन गर्न अझै मिहेनत गर्नुपर्ने देखिएको उनको बुझाइ छ । साझा पार्टीमा नेतृत्व परिवर्तनको चर्चा छ नि भन्ने अर्काे प्रश्नमा उनले साझा लोकतान्त्रिक पार्टी भएकाले उपयुक्त व्यक्ति आए हालका संयोजक रवीन्द्र मिश्रले छोडेर नयाँलाई अवसर दिने बताए ।

नेतृत्व परिवर्तनका विषयमा प्रवक्ता आचार्यले भने, ‘नेतृत्वको विषयमा हामी खुला छौं, हामी कोही पनि अपरिहार्य छैनौँ, नेतृत्व परिवर्तन आवश्यकताले ल्याउने कुरा हो, रवीन्द्र मिश्र र म परिवर्तन हुने सम्भावना छ ।’साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नु पर्ने सन्देश दिएको बताएका उनले जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने र यसका लागि आगामी दिनमा तयारी गरिने बताए ।

आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनहरूमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने जानकारी दिएका उनले यसका लागि ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने बताए ।

यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको परिणामपछि साझा पार्टीले लिने आगामी रणनीति, उपनिर्वाचनको समीक्षा, नेतृत्व परिवर्तनलगायतका विषयमा क्यानाडानेपालका सन्तोष निरौलाले साझाका प्रवक्ता डा. सूर्यराज आचार्यसँग गरेको यो भिडियो अन्तर्वार्ता :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार