sajalsandesh

प्रहरीमा सरुवा–बढुवाको दौडधुप, पिएसओको पावरले प्रहरीको बदनाम

काठमाडौं – उपनिर्वाचनको आचारसंहिताका कारण प्रभावित भएको नेपाल प्रहरीको सरुवा बढुवाको प्रक्रिया सुरु भएको छ । निर्वाचनको चटारो सकिएलगत्तै गृह मन्त्रालयले ठूलो संख्यामा प्रहरी अधिकारीको बढुवाको तयारी थालेको छ ।

गत ७ असोजको मन्त्रिपरिषद्को बैठकले प्रहरीको तीन हजार पाँच सय ९६ दरबन्दी थप नयाँ दरबन्दी स्वीकृत गरेसँगै ठूलो संख्यामा पदहरु रिक्त भएको हो । पद रिक्त भएको दुई महिनाभित्र बढुवा गर्नुपर्ने सर्वोच्चको आदेश भए पनि त्यो कार्यान्वयन भने भएको छैन ।

सरकारले तीन एसएसपी, चार एसपी, २१ डिएसपी, ४७ इन्स्पेक्टरको दरबन्दी थप गरेको थियो । तीन एसएसपीमध्ये एक प्राविधिक हुन् । प्रहरी संगित विद्यालयमा एसएसपीको दरबन्दी सिर्जना गरिएको छ । त्यस्तै एक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा अर्को प्रहरी प्रधान कार्यालयका लागि दरबन्दी थप भएको हो ।

एसपीमा चार दरबन्दीमध्ये दुई सिभिल इन्जिनियरिङको छ । बाँकी दुईमध्ये एक पर्यटक प्रहरी तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि थपिएको थियो ।

८६ जना प्रहरी नायब निरीक्षक (सई), दुई सय ९७ सहायक प्रहरी निरीक्षक (असई), ६ सय ८३ हवल्दार, दुई हजार दुई सय १६ जवान र दुई सय ४२ कार्यालय सहयोगीको दरबनदी थप गरिए पनि पूर्ति हुनसकेको छैन ।

प्रहरीमा पहिलेदेखि नै एसएसपीको एक पद रिक्त थियो । त्यस्तै एक महिनाभित्र चार एसएसपीले अवकाश पाउने भएकाले त्यसपछि मात्र बढुवा हुने सम्भावना छ । जसअनुसार प्रशासनतर्फ एसएसपीका सात पद रिक्त हुनेछन् । जसमा चार गुणा धेरै आकांक्षीहरु छन् ।

वीरेन्द्र श्रेष्ठ र दिलीप बस्नेतले मंसिरमा तथा विभूतीराज पाण्डे र भोजजंग शाहले पुस २० मा अनिवार्य अवकाश पाउने भएकाले थप चार पद रिक्त हुन लागेका हुन् । सात पदमा यसअघि आफ्नो ब्याचमा छुटेकाहरु पर्ने सम्भावना छ ।

जसमा रविन्द्र केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, विष्णुकुमार केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, दुर्गा सिंह चन्द, जनक भट्टराई, केदार ढकाल लगायत छन् ।

त्यस्तै ह्दय थापा, अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणा, चक्रबहादुर सिंह, अर्जुनचन्द ठकुरी, मुकेशकुमार सिंह लगायत पनि दौडधुपमा लागिसकेका छन् । त्यस्तै एसपीका ११ पद रिक्त हुने छन् ।

एसपी बढुवाको दौडमा पनि ब्याचटपर भएर पनि अघिल्लो पटक छुटेका ऋषिराज कँडेल र भुवनेश्वर तिवारी निर्विकल्प छन् ।

त्यस्तै प्रकाश मल्ल, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, रामप्रकाश शाह, प्रवीणलाल श्रेष्ठ, वेद विष्ट, प्रभुप्रसाद ढकाल, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, अमरेन्द्र बहादुर सिंह, सुरेशप्रसाद काफ्ले, नकुल पोखरेल, प्रेमबहादुर बस्नेत, ज्ञानेन्द्रप्रसाद फुँयाल बढुवाका प्रतिस्पर्धी हुन् ।

त्यस्तै महेन्द्र खड्का, दीपक पोखरेल, सञ्जयसिंह थापा, राजकुमार सिलवाल, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, होविन्द्र बोगटी, पदमबहादुर विष्ट, प्रवीण धिताल, दीपेन्द्र शाह, दीपेन्द्र शाही, महेन्द्रकुमार श्रेष्ठ, दयानिधि ज्ञवाली र राजेन्द्रबाबु रेग्मी लगायत डीएसपीहरु एसपीका लागि प्रतिस्पर्धी छन् ।

त्यस्तै यसपटकको डिएसपीको बढुवामा नयाँ ब्याचका इन्सपेक्टरहरु समेत शक्तिकेन्द्र धाउन थालेका छन् । अवकाशअघि सबै पदमा बढुवा गर्ने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको तयारी छ । त्यस्तै मेट्रो र महानगरीय प्रहरी कार्यालयमा डिआईजी पनि हेरफेर गर्ने गृह मन्त्रालयको तयारी छ । मेट्रोमा सरुवाका लागि विश्वराज पोखरेलले दाबी गरेका छन् ।

पिएसओको पावरले प्रहरीको बदनाम

नेताको अंगरक्षकका रुपमा खटिने पिएसओका कारण प्रहरी बदनाम र संगठन कमजोर हुँदै गएको छ । ठूला नेताका पिएसओ बस्ने प्रहरीहरु सरुवा बढुवामा त अघि पर्छन् नै भ्रष्टाचारमा समेत अग्रस्थानमा देखिएका छन् ।

डिएसपी कोमल शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनका पिएसओ थिए । प्रधानमन्त्रीबाट हटेपछि पनि शाहलाई देउवाले आफैंसँग राखे । जबकी पूर्व प्रधानमन्त्रीले इन्स्पेक्टरको कमाण्डमा मात्र पिएसओ पाउँछ् ।

डिएसपी शाह प्रहरी भन्दा कांग्रेस कार्यकर्ता जस्तो बनेर काम गरेकाले देउवाले उनलाई रुचाए । उनी कांग्रेस नेताका छोरा समेत हुन् । आफ्नो सेवा गरेकाले देउवाकै पावरमा शाहले ८ महिनाअघि वडा प्रहरी कार्यालय बैदाम, कास्कीको इन्चार्ज हुने अवसर पाएँ ।

बैदाम डिएसपीका लागि सर्वाधिक आकर्षक पोष्टिङ मानिन्छ । किनकी पोखराको रात्रीबजार र सयौं होटल यही कार्यालय मातहत पर्दछ । ती होटल र रेस्टुरेन्टबाट प्रहरीले मासिक उठाउने गर्दछ । त्यसैका लागि उनी बैदान गएका थिए । सरुवा भएको महिनादेखि उनको ध्यान कमाउनमा भयो ।

त्यहीकारण शान्ति सुरक्षा अवस्था खँस्कदै गयो । उप निर्वाचनको बेलामा समेत तीन दिन विष्फोट भयो । चुनावमा उनले कांग्रेस उम्मेदवारलाई समेत अप्रत्यक्ष सहयोग गरेको प्रमाण भेटियो । त्यसपछि चुनावको मुखमा उनलाई गत साता प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको थियो ।

यो एउटा उदाहरण मात्र हो । पिएसओ बसेका सबैजसो प्रहरीको अवस्था उस्तै छ । लामो समय नेकपाका अध्यक्ष प्रचण्डको पिएसओ बसेका एसपी दानबहादुर मल्ल हाल चितवनको इन्चार्ज छन् । प्रचण्डको पिएसओ भएकै कारण उनले यसअघि दरबारमार्ग वृत्तको इन्चार्ज पाएका थिए ।

बढुवा लगत्तै चितवनजस्तोे संवेदनशील जिल्लामा उनलाई खटाइयो । उनले चितवनको कमाण्ड सम्हालेयता प्रहरी एकपछि अर्को विवादमा फसेको छ, दृष्टिमा उल्लेख छ ।

चोरीमा संलग्नलाई सार्वजनिक मुद्दा चलाएर उन्मुक्ति दिएकोदेखि मेडिकल कलेजको अवैध धन्दामा साथ दिएको आरोप उनीमाथि छ । रवि लामिछानेदेखि ज्ञानेन्द्र शाही प्रकरणमा उनी विवादमा तानिए । होटलमा छापा हानेर मासिक उठाउने गरेको आरोप उनीमाथि छ ।

ismt college
dish home