प्रधानमन्त्रीलाई अस्पतालमा छाडेर प्रचण्डको चीन र माधव नेपालको भारत भ्रमण किन ?

२०७६ मंसिर १६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि एक सातादेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरको आईसीयूमा भर्ना भएर स्वास्थ्य उपचार गराइरहेका छन् । तर, यही बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल विदेश भ्रमणमा जाने तयारीमा छन् ।

चिनियाँ राष्ट्रपति शी जिनपिङको निमन्त्रणमा आउँदो साता प्रचण्ड चीन जाने तयारीमा छन् । यस्तै वरिष्ठ नेता नेपाल पनि आउँदो साता नै भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्री ओली अस्वस्थ हुँदा नेकपाको दुई शीर्ष नेताको विदेश भ्रमणको तयारी भएको हो ।

तर, प्रधानमन्त्री ओलीसँग आइतबार राति भएको गोप्य भेटवार्तापछि प्रचण्डले तत्काल चीन गइहाल्ने मनस्थितिलाई परिवर्तन गर्न थालेको स्रोतको भनाइ छ । यही मंसिर २४ गते चीन जाने तयारी गरेका प्रचण्ड पछिल्लो केही दिनयता आफूनिकट नेताहरुसँग प्रधानमन्त्री ओली बिरामी भएक बेला चीन जानु उपयुक्त नहुने बताउन थालेका छन् । केही यता प्रचण्ड अहिले नै चीन जाने या नजाने भन्ने टुंगोमा पुग्न सकेका छैनन् ।

यसैबीच, प्रचण्डको चीन भ्रमणको चर्चा चलिरहेका बेला अर्का वरिष्ठ नेता नेपाल पनि भारत जान लागेको खबर आइरहेको छ । आउँदो साता नै नेता नेपाल भारत जान लागेका हुन् । सीमा समस्याको विषयलाई लिएर सरकारको विशेष दूतको रुपमा नेता नेपाल भारत जाने तयारीमा रहेका छन् ।

तर, उनको हुन लागेको भारत भ्रमणलाई कूटनीतिकमात्रै नभएर राजनीतिक दृष्टिकोणबाट पनि हेरिएको छ । नेता नेपाल पनि अस्पतालबाट प्रधानमन्त्री निवास फर्केपछि भारत जानेकि भन्ने मनस्थितिमा पुगेका उनीनिकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार