साग उद्घाटन समाराेहकाे लाइभ हेर्न प्रधानमन्त्री ओलीलाई आईसीयुमै टिभी

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – एपन्डिसाइटिसको अप्रेशनपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को उद्घाटन समारोह हेर्ने व्यवस्था मिलाइएको अस्पताल स्रोतले जनाएको छ ।

दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्नुहुनेछ । मनमोहनको पाँचौ तल्लास्थित आईसीयुमै उहाँका लागि टिभी सेट उपलब्ध गराइएको उहाँको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।

प्रम ओलीले सागको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गर्नुभएकोले आइसियूमै टिभी उपलब्ध गराइएको डा सायमीको भनाइ छ । एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको समेत उनकाे भनाइ छ ।

१३ औँ सागकाे आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । उद्घाटन समारोहलाई ऐतिहासिक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी, कलाकारसहित करिब १५ हजार जनशक्ति फिल्डमा परिचालन गरिँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार १३औं सागमा सात देशका २ हजार ९ सय १० खेलाडी र ७ सय ६९ ‘अफिसियल’ सहभागी हुँदैछन् । नेपालबाट ५ सय ९४ खेलाडी र १ सय ८६ व्यवस्थापक तथा प्रशिक्षक हुनेछन् । प्रतियोगिता अवधिभर ३ सय १७ स्वर्ण, त्यति नै रजत र ४ सय ८१ कास्य पदकको छिनोफानो हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार