प्रचण्डलाई भैंसीको पुच्छर समाएर पूजा गर्न लगाउने सिद्धबाबा कृष्णदास आइसियूमा

सिद्धबाबालाई आफ्नै अनुयायी एक महिलाले गत कात्तिक ४ गते जवरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

सुनसरी – जवरजस्ती करणीको आरोप लागेका बराह क्षेत्रका सिद्धबाबा कृष्णदास गिरीलाई हर्ट अट्याक भएको छ । आफ्नै महिला अनुयायीमाथि करणी गरेको अभियोग लागेका सिद्धबाबा कृष्णदास केहि दिन देखि अस्वस्थ भएको भन्दै विराट नर्सिङ होममा थिए । आज प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर जाँदा कृष्णदास ‘हर्ट अट्याक’ भएको भन्दै आइसियूमा भर्ना भएका हुन् ।

कृष्णदासलाई हर्ट अट्याक भएको प्रहरीले समेत जनाएको छ । बलात्कार आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि आज जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली कृष्णदासलाई पक्राउ गर्न अस्पताल पुगेको थियो । तर, कृष्णदासलाई ‘हर्ट अट्याक’ भएको भन्दै भेन्टिलेटरमा राखिएको थाह पाएपछि सुनसरी प्रहरी टोली के गर्ने अलमलमा छ ।

सुनसरी प्रहरी डिएसपी शर्माले दिएको जानकारी अनुसार सिद्धबाबाको हाल आइसियुमा उपचार भइरहेको छ । ‘अदालतबाट पक्राउ पुर्जी आइसकेकाले पक्राउ गर्न आएका थियौं, तर हर्ट अट्याक भएर आइसियुमा उपचार भइरहेको रहेछ ।’ डिएसपी शर्माले भने । उनले कृष्णदासलाई आइसियुबाहिर बाटै प्रहरी निगरानीमा राखिएको जानकारी दिए । साथै शर्माले आइसियुबाट निस्कने बितिकै पक्राउ गरिने बताए ।

सिद्धबाबालाई आफ्नै अनुयायी एक महिलाले गत कात्तिक ४ गते जवरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् । शुरुमा प्रहरीले समेत उक्त महिलाको जाहेरी लिन इन्कार गरेको थियो ।

कृष्णदासका अनुयायीले ती महिलाले कृष्णदासलाई म्यासेन्जरमा पठाएका म्यासेजहरु सार्वजनिक गरेका थिए । भने, त्यसपछि कृष्णदासले ती महिलालाई फोन गरेर आफुबाट गल्ती भएको भन्दै माफि दिन र उजुरी फिर्ता लिन डेढ घण्टा संवाद गरेको अडियो नै सार्वजनिक भएको थियो । उक्त अडियोमा कृष्णदासले आफुबाट गल्ती भएको भन्दै रुदै ती महिलासँग माफि मागेका छन् ।

प्रहरीले शुक्रबार नै जिल्ला अदालत सुनसरीबाट पक्राउपूर्जी लिएपनि अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।

पीडित महिलाले कृष्णदासलाई पूर्ण रुपमा भगवान मानेकाले दशैंमा टीका लगाउन गएको समयमा एक्लै भेटघाट गरी आफूलाई जबरजस्ती करणी गरेता पनि डर त्रासका कारण विरोध गर्न नसकेको बताएकी छिन् ।

कृष्ण बहादुर गिरी उर्फ कृष्णदास महाराजा तथा सिद्धबाबा विगतदेखिनै विवादित ब्यक्ति हन् । उनलाई दोहोरो नागरिकता लिएको आरोप छ । यसका अलावा चतरामा सार्वजनिक जग्गा मिचेको पनि छ । उनी आफुलाई जडिवुटीको अध्येता समेत भन्दछन् ।

सोलुखुम्बुबाट कृष्णबहादुर गिरीको नाममा र सुनसरीबाट २०६५ सालमा श्री वैष्णव कृष्णदासको नाममा नागरिकता लिएका कृष्णदासको पहुँच राष्ट्रपति, मुख्यमन्त्री, मन्त्री, प्रदेश सरकारदेखि प्रहरीको माथिल्लो निकायसम्म छ । उनी त्यसैको आडमा बलात्कार जस्तो जघन्य अपराधबाट उन्मुक्ति पाउने दाउमा छन् । यसमा लागि कृष्णदासले अस्पतालको बेडबाटै प्रहरीका उच्च अधिकारी देखि, राजनीतिक दलका ठूला नेताहरुलाई सम्पर्क समेत गरिसकेको अस्पताल स्रोत बताउँछ ।

कृष्णदासले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चतरामै लगेर नक्सा पास नभएको १२८ कोठे भवन समेत उद्घाटन गराएका थिए । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले त आफू कृष्णदासबाट प्रभावित भएको बताउँदै आएका छन् । उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भैंसीको पुच्छर समाउन लगाएर पूजा गराएका थिए । भने, पूर्व राजा ज्ञानेन्द्रलाई समेत चतराधाममा पूजा गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार