प्रधानमन्त्रीको सातौंपटक डायलसिस

२०७६ मंसिर १५, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ – आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ । यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीन पटक डायलसिस गरिएको हो ।

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन् । उनलाई आईसीयूभित्रै सहारा दिएर हिँड्डुलसमेत गराइएको छ । दिउँसो डायलसिस गरिएपछि प्रधानमन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ ।

उपचारमा संलग्न एक चिकित्सकले ओलीलाई अझै संक्रमणको जोखिम रहे पनि समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताए । चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई शल्यक्रियापछि देखिन सक्ने ‘निमोनिया’ को जोखिमबाट जोगाउनुपर्ने र शल्यक्रिया गर्दाको घाउ छिट्टै निको पार्नुपर्ने छ । ‘मिर्गौलाका रोगीहरूको कुनै पनि घाउलगायतका स्वास्थ्य समस्या ढिलो गरी निको हुने गर्छ,’ ती चिकित्सकले भने, ‘उहाँ (ओली) को रगत र पिसाबमा देखिएको संक्रमणमा एन्टिबायोटिक औषधिले सकारात्मक प्रभाव देखाएकाले समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख भन्नुपर्छ ।’ याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार