sajalsandesh

ल हेर्नुहोस पैसाको पा’वर, ३५ लाख दिएर स्कुलको नाम नै परिवर्तन

काठमाडौँ – मैवाखोला गाउँपालिका–२ ढुंगेसाँघुको एक परिवारले विद्यालयलाई ३५ लाख रुपैयाँ बराबरको सहयोग गरेर नाम र ठेगाना परिवर्तन गराएका छन् । दिवंगत सिंगराज र मनरानी बनेमका नाममा उनीहरूका छोराछोरीले विद्यालयको नाम लेखाएका हुन् ।
प्रस्ताव साधारणसभाबाट पारित गरेर गाउँपालिकाले विद्यालयको नाम परिवर्तन गरिदिएपछि साविक ठोट्ने आधारभूत विद्यालय ढुंगेसाँघु–८ बरडाँडा अब ठोट्ने सिंगराज–मनरानी आधारभूत विद्यालय मैवाखोला–२ ९चुम्लोक लेकुवा० भएको हो । प्रधानाध्यापक चित्र लिम्बूले नाम परिवर्तनको जानकारी गाउँपालिका, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समिति, प्रदेश सरकार, शिक्षक किताबखाना, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, संघीय शिक्षा मन्त्रालय र चन्दादातालाई गराइएको बताए ।

गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले शिक्षा ऐनमा भएको व्यवस्थाअनुसार नाम र ठेगाना परिवर्तन गरिएको बताए । शिक्षा इकाईका अनुसार चन्दादाताको नाममा विद्यालयको नाम परिवर्तन भएको यो दोस्रो विद्यालय हो । यसअघि फक्ताङलुङ गाउँपालिका–६ लेलेपको सरस्वती माध्यमिक विद्यालयलाई सरस्वती च्यारिबुक मावि बनाइएको थियो । च्यारी विदेशी नागरिक हुन् ।

प्रधानाध्यापक लिम्बूका अनुसार ठोट्नेमा सिंगराज र मनरानीका आठ सन्तानले २७ लाख रुपैयाँ लगानी गरेर खेल मैदान बनाइदिएका छन् । यो ९५ मिटर लम्बाइ र ३२ मिटर चौडाइको छ । यसका लागि ९ रोपनी २ आना जमिन सिंगराज–मनरानीका जेठा छोरा मकरध्वजले विद्यालयका नाममा पास गरिदिएका छन् । यसअघि विद्यालय स्थापना हुँदा ९ रोपनी १४ आना जमिन थियो ।

त्यो पनि आफूहरूले नै दिएको मकरध्वजले बताए । जग्गा र खेलमैदानको मूल्यांकन गर्दा ३५ लाख नपुग्ने भएपछि उनीहरूले नगद ९ लाख ५ हजार ५ सय ५५ रुपैयाँ विद्यालयको खातामा जम्मा गरिदिएको अधिकारीले बताए ।

जेठा छोरा मकरध्वजका अनुसार माइला डम्बरकुमार, साइँला नारायण कुमार, काइँला डम्वरध्वज, अन्तरे टंकप्रसाद, कान्छा कमलप्रसाद र छोरीहरू धनमाया र शिवकुमारी बनेम लिम्बूको लगानी छ । आगामी चैतमा विद्यालयमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने निर्णय आफ्नो परिवारमा भएको पनि मकरध्वजले सुनाए । बालबालिकाको रचनात्मक विकासमा खर्च गर्ने गरी कोष स्थापना गरिदिने उनको भनाइ छ । कान्तिपुरबाट ।

ismt college
dish home