sajalsandesh

मेरो मन्त्रालय सरुवा हुँदा १३६ देशका मन्त्री छक्कै परे : कानुन मन्त्रि उपेन्द्र यादव

काठमाडौं – उपप्रधानमन्त्रीसमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मुलुकको प्रतिनिधित्व गरेर विदेश गएका बेला जिम्मेवारी फेरिएकोप्रति असन्तुष्टि जनाएका छन्।

यादव विदेशमा रहेको बेला उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएका थिए। विश्व स्वास्थ्य संगठन र भारत सरकारले दिल्लीमा आयोजना गरेको सम्मेलनमा आफू नेपालको प्रतिनिधित्व गरेर गएको र बीचमा नै जिम्मेवारी परिवर्तन गर्दा विश्वभर नेपालको राम्रो सन्देश नगएको उनको भनाइ थियो। उक्त कार्यक्रममा नेपालसहित १३७ देशका प्रतिनिधि सहभागी थिए।

नेपालको तर्फबाट यादव सहभागी थिए। सम्मेलनमा तीन पटक नेपालले आफ्ना धारणा राख्ने कार्यक्रम थियो। तर, यादवले उद्घाटन समारोहमा मात्रै सहभागिता जनाए। सम्बोधन गरे। बाँकी दुई कार्यक्रममा नेपालको तर्फबाट सम्बोधन भएन। नेपालको तर्फबाट स्वास्थ्य क्षेत्रका बारेमा विश्व समुदाय माझ धारणा राख्ने अवसर मिलेन। पहिलो पटक सम्बोधन गर्दा यादव नेपालको स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए। दोस्रो दिन उनको जिम्मेवारी फेरिएको थियो। दोस्रो र तेस्रो सम्बोधन गर्नु पहिल्यै जिम्मेवारी फेरिएको हो। ती सम्बोधन गर्ने पालो आएपछि आफू नैतिक रूपमा सहभागी नभएको बताए।

शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाटपछि मन्त्री यादवले भने, ‘विदेशमा रहेको बेलामा जिम्मेवारी हेरफेर राम्रो भएन। मन्त्रिपरिषद बैठकले मुलुकको प्रतिनिधि बनाएर विदेश पठाएको अवस्थामा यस्तो गर्नु ठीक भएन।’ ‘कार्यक्रममा तीन पटक नेपालले सम्बोधन गर्नुपर्ने थियो। पहिलो सम्बोधन भयो तर दोस्रो हुनु पहिल्यै जिम्मेवारी हेरफेर भयो र म नैतिक रूपमा त्यहाँ सहभागी भएन’, यादवले भने, ‘त्यहाँ सहभागी १३६ मुलुकका मन्त्रीहरूले त्यो थाहा पाएछन्, छक्क परेका थिए। नेपालमा यस्तो पनि हुने रहेछ भन्ने उनीहरूमा परेको थियो।’

ismt college
dish home