sajalsandesh

पार्टी कमिटीमा बस्न अब नेकपाका कार्यकर्ताले परीक्षा दिनुपर्ने !

काठमाडौँ – सत्तारुढ नेकपाले पार्टी संगठनको कुनै पनि कमिटीमा बस्नुपूर्व पार्टी सदस्यले परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको छ । पार्टी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख वामदेव गौतमले तयार पारेको कार्ययोजनामा कम्युनिष्ट सिद्धान्त र मूल्य–मान्यतासम्बन्धी ज्ञानको परीक्षामा पास भएका व्यक्तिमात्र पार्टी कमिटीमा बस्ने प्रस्ताव छ ।

नेता गौतमले आफूले तयार पारेको प्रस्ताव पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाए पनि पार्टी सचिवालयबाट अनुमोदन नभएका कारण कार्यन्वयनमा भने नआएको जानकारी दिए।

‘पार्टी कमिटीमा बस्ने हरेक व्यक्तिले स्कूल विभागको प्रशिक्षण लिनुपर्ने, त्यसै अनुसार परीक्षा दिनुपर्ने र परीक्षामा पास भएको व्यक्तिमात्र कमिटीमा जोडिने व्यवस्थासहितको कार्ययोजना पेश गरेको छु,’ नेता गौतमले भने, ‘चार पाँचपेज लामो कार्ययोजना छ। सचिवालयले अनुमोदन गरेपछि मात्रै लागू हुन्छ।’

नेता गौतमका अनुसार संगठन विभागले पार्टी स्कूल विभागसँग समन्वय गरेर यस्तो काम सम्पन्न गर्ने प्रस्ताव गरेको छ। गौतमले बनाएको कार्ययोजना अनुसार पार्टी स्कूलले चलाएका प्रशिक्षणमा पास नभएसम्म जोकोही पार्टी सदस्य कमिटीमा नभई अध्ययन कार्यदलमा बस्नेछ। पहिला उसले स्कूल विभागको प्रशिक्षण लिन्छ, त्यहीँ परिक्षा दिन्छ र सम्बन्धित कमिटीका लागि सिफारिस हुन्छ।

आफ्नो कार्ययोजना अनुसार आठ लाख पार्टी सदस्यमध्ये अहिले २५ देखि ३० हजार सदस्य मात्र कमिटीमा रहेको र बाँकी सात लाख ७० हजार पार्टी सदस्यलाई पनि कुनै न कुनै कमिटीमा जोड्ने प्रस्ताव तयार पारेको गौतमले बताए।

‘आठ लाख पार्टी सदस्यको तीन महिनाभित्र नवीकरण गर्ने र अर्को तीन महिनाभित्र संगठनमा जोड्ने गरी प्रस्ताव बनेको छ,’ गौतमले भने, ‘उनीहरु सबैले स्कूल विभागले चलाएको प्रशिक्षणमा सहभागि भई आधारभूत ज्ञान हाासिल गरेकै हुनुपर्छ।’

आफूले तयार पारेको कार्ययोजना स्थानीय कमिटीका लागि बढी प्रभावकारी हुने नेता गौतमको विश्वास छ। नेकपाको विधान अनुसार पार्टीका स्थानीय कमिटीहरुमा जिल्ला कमिटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, महानगर–उपमहानगर–नगर कमिटी, गाँउ कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी छन्।

विधान अनुसार पार्टी सदस्य हुन १८ वर्ष उमेर पुगेको, नैतिकवान र स्वच्छ चरित्र भएको, मानसिक सन्तुलन नगुमेको, नैतिक पनदेखि फौजदारी कसूरमा सजाय नपाएको, पार्टी सिद्धान्त, कार्यक्रम, नीति र विधान मान्न तप्पर अनि उत्पादनमूलक श्रममा संलग्न भई सामाजिक आर्थिक रुपान्तरणमा त्रियाशिल भएको हुनुपर्छ। सदस्य, संगठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारका पार्टी सदस्य रहने विधानमा व्यवस्था छ। भिन्दाभिन्दै कमिटीमा बस्न फरकफरक मापदण्ड छ।

नेकपाको स्कूल विभागले क्रमशः विभिन्न जिल्लामा राजनीतिक वैचारिक प्रशिक्षण चलाएको छ। र, संगठन विभाग प्रमुखको कार्ययोजना अनुमोदन नभएकाले अहिले चलिरहेका पशिक्षणपछि यस्तो परीक्षा भने लिइएको छैन।

नेकपामा ईश्वर पोखरेल प्रमुख र देवेन्द्र पौडेल र वेदुराम भुसाल उपप्रमुख रहेको प्रशिक्षण विभागले पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिन थालेको छ। पाठ्यक्रममा माक्सवादी अर्थशास्त्र, विभिन्न देशमा समाजवादका मोडल र नेपालको मोडेल, समृद्धि र सरकारले गरेका काम, पार्टीको विधान र नियमावली, कम्युनिष्ट आन्दोलनको इतिहास, पार्टीको कार्यदिशा र कार्यभार, समसामयिक परिस्थिति र नेकपाको भूमिका लगायतका विषय छन्।

गत साउन ३ गते गठन भएको नेकपाको संगठन विभागको उपप्रमुख जनार्दन शर्मा छन्। पछि यसमा असोज २९ गते अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यको रुपमा थप गरिएको छ। सोही अनुसार हाल संगठन विभाग ५ सदस्यीय छ। पार्टी नियमावलीमा विभाग ३५ सदस्यीयसम्म बनाउन सकिने व्यवस्था छ। तर संगठन विभागले १३ देखि १५ जनासम्मको चुस्त विभाग गठनको प्रस्ताव अध्यक्षद्वयलाई पेश गरेको छ।

पार्टी नियमावलीमा नेकपाको संगठन विभागलाई पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्यको अभिलेख राख्ने र प्रमाणित गर्ने, आवश्यकताअनुसार सदस्य तथा संगठित सदस्यको स्थानान्तरण गर्ने, पार्टीका संगठित सदस्य र विभिन्न तहका कमिटी, आयोग, निकाय, विभागका पदाधिकारी तथा सदस्यको वर्गीय, जातिय, भाषिक, लैंगिक तथा प्रादेशिक प्रतिनिधित्वको तुलनात्मक अभिलेख तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्नेलगायतका अधिकार छन्।

पार्टी विधान अनुसार नेकपामा दुईअध्यक्षबाहेक सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो, केन्द्रीय कमिटी, केन्द्रीय आयोग, परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठन, महानगररउप महानगररगाँउरनगर कमिटी, टोल, वडा लगाएतका कमिटी छन्।

संगठन विभागको जस्तै देशव्यापी कार्ययोजना चलाउने नेकपाको अर्को प्रस्ताव पनि अलपत्र छ। संगठन विभागको प्रतिवेदन अलपत्र हुँदा नेकपाले देशव्यापी रुपमा चलाउने भनेको अभियानसमेत प्रभावित भएको छ।

गत बैशाख ८ गते बसेको सचिवालय बैठकले सांगठनिक एकीकरणका काम सकेलगत्तै देशव्यापी विशेष अभियान चलाउने निर्णय गरेको थियो। ‘सिंगो पार्टीपंक्ति र आमजनसमुदायलाई राष्ट्रव्यापी रुपमा परिचालित गर्न विशेष अभियान संचालन गरिनेछ। पार्टीको कामलाई नियमित तथा प्रभावकारी रुपमा सम्पादन गर्दै विशेष अभियानको लागि तयारी हालतमा रहन पार्टीका सम्पूर्ण नेता र कार्यकर्तालाई आव्हान गरिन्छ।’ बैठकपछि जारी नेकपाको आन्तरिक परिपत्रमा छ।

नेकपाको सचिवालय बैठकले गौतमलाई पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको जिम्मेवादी प्रदान गर्न स्थायी कमिटी बैठकमा लैजाने निर्णय गरेपछि स्थायी कमिटीको बैठक बस्न नसक्दा यो निर्णय पनि कार्यान्वयनमा आएको छैन। कान्तिपुरबाट ।

ismt college
dish home