सांसदको कालापानी भ्रमण अन्योलमा, नेपाली सेनाले माग्यो टोलीको संख्या

२०७६ मंसिर १४, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाैँ – भारतद्वारा सीमा अतिक्रमित क्षेत्र कालापानी अनुगमनका लागि जाने भनेको प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको टोली अन्योलमा परेको छ । समितिले सीमाक्षेत्रमा जाने संख्या नेपाली सेनालाई नपठाउँदा सेनाले हेलिकोप्टर दिने निर्णय पनि गर्न सकेको छैन ।
भारतले नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो नक्सामा समोवश गरेपछि नेपालमा चर्काे विरोध भइरहेको छ । सीमा विवाद चर्किएसँगै राज्यव्यवस्था समितिले पनि कालापानी क्षेत्रको स्थलगत अध्ययनमा जाने निर्णय ग-यो ।

समिति सदस्य झपट रावलका अनुसार गत ४ र ५ मंसिरमा कालापानीको स्थलगत भ्रमणमा जाने समितिको तयारी थियो । तर, सभामुखबाट भ्रमण स्वीकृत गर्नुपर्ने व्यवस्थाअनुसार समितिले स्वीकृति पाउन नसक्दा भ्रमण अन्योलमा प¥यो । समितिको निर्णय कार्यान्वयनका सम्बन्धमा अबको बैठकमा छलफल हुने सांसद रावलले जानकारी दिए ।

राज्यव्यवस्था समितिको भ्रमणका लागि आवश्यक बजेटसमेत स्वीकृत नहुँदा भ्रमण रोकिएको समिति सचिवालय स्रोतले जानकारी दिएको छ । संसदीय समितिहरूको यस्ता भ्रमण बजेट स्वीकृत गर्ने अधिकार सभामुखलाई हुन्छ ।

संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराको राजीनामापछि यो पद खाली छ । उपसभामुखले भ्रमण स्वीकृत गर्ने अधिकार नपाएकाले भ्रमण अन्योलमा परेको हो । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको निर्वाचनपछि अनुमोदन गर्नेगरी भ्रमणको सहजीकरण भने गरेकी छन् । याे खबर राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार