sajalsandesh

आखिर असफल अर्थमन्त्रीलाई ओलीले किन काखी च्यापे ?

काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २१ महिनापछि गत मंसिर ५ गते मन्त्रिपरिषद् पुनर्गठन गरे । पुर्नगठनका क्रममा सबै भन्दा चर्चाको पात्र बनेकी थिइन् खानेपानी मन्त्री बिना मगर ।

उनी थिइन पुर्वमाओवादीको कित्ताबाट । उनलाई आफ्नै ससुरा अर्थात सत्ताधारी नेकपाका दोस्रो अध्यक्ष प्रचण्डको आर्शिवाद थियो ।

त्यसैगरि अर्का विवादस्पद पात्र थिए अर्थमन्त्री युवराज खतिवडा । आखिर यी दुईलाई पद छाड्न परेन । कार्यक्षमताको हिसाबले भन्दा शक्ति र भक्तिका हिसाबले हटाइनुपर्ने केही मन्त्रीहरु नहटेपछि मन्त्रिमण्डल हेरफेरलाई अपूर्णको चर्चा दिइएको छ ।

चौतर्फी मात्र नभई नेकपाभित्रै असफलताको आरोप लागेका अर्थमन्त्री युवराज खतिवडा पुनर्गठित मन्त्रिमण्डलमा पर्नुलाई अचम्म मानिएको छ ।
आगामी माघमा दुई वर्षे कार्यकाल (राष्ट्रियसभाको सदस्य) पूरा गरी विदा हुन लागेका अर्थमन्त्री खतिवडा र अर्थमन्त्रालयका सचिवहरु एवं मातहतका विभागहरुका कारण राजश्व असुली घट्दै गइरहेको समाचार स्रातले बताएको छ ।

मुलुकको विकासका निम्ति महत्वपूर्ण कडी ठानिएको अर्थमन्त्रालय मन्त्री खतिवडाको कार्यशैली र घमण्डका कारण क्षतविक्षत बनेको जानकारहरुले बताएका छन् ।

अर्थमन्त्री बनेको २० महिनासम्म सुधार ल्याउन नसकेका अर्थमन्त्री खतिवडा च्याप्नुलाई रहस्यमय मानिएको छ । त्यसो त उनकै अभिब्यक्तीले शेयर बजार थिल्थिलो भएको अवस्था छ ।

आगामी माघपछि अर्थमन्त्रालयको बागडोर सुरेन्द्र पाण्डेले सम्हाल्ने भएकाले दुई महिनाका लागि खतिवडालाई नहटाइएको तर्क राजनीतिक वृत्तमा चलेको छ ।

शेयरबजार र घरजग्गा तथा कर आतंकका कारण अर्थमन्त्री खतिवडालाई कसैले पनि नरुचाएको सरोकारवालाहरुले बताएका छन् । हाल अर्थमन्त्रालयमा क्षमतावानभन्दा भक्तिदासहरुको बोलवाला रहेको छ ।

निराशाजनक व्यापार, घट्दो रेमिट्यान्स, सरकार खर्चमा आएको कमी र आर्थिक वृद्धिदर घट्नुले अर्थमन्त्री र उनका सारथिहरुको असफलता पुष्टी भएको खबर सिंहदरवार भित्रै सुन्न पाइन्छ ।

त्यसो त आखिर असफल अर्थमन्त्रीलाई ओलीले किन काखी च्यापे ? अर्थसँग सरोकार राख्नेहरुको मुख मुखमा झुन्डिएको प्रस्न हो यो ।

ismt college
dish home